उपराष्ट्रपतिदेखि कलाकारसम्म, यसरी उद्घाटन भयो माउन्ट एभरेष्ट ग्रुप (भिडियोसहित)
नेपाली बहुराष्ट्रिय कम्पनी माउन्ट एभरेस्ट (एमइ) गु्रपले शुक्रबारबाट आफ्नो सेवा सुरु गरेको छ । काठमाडौंको अन्नपुर्ण होटलमा एउटा कार्यक्रम गर्दै (एमइ) गु्रपले नेपालको पर्यटन लगायत विभिन्न क्षेत्रमा लगानी गर्ने जनाएको छ । केन्द्रीय कार्यालय काठमाडौँ रहेको सो कम्पनीले एमइ ट्राभल एन्ड टुर्स प्रालि नामक कम्पनी खडा विभिन्न जिल्लाहरुमा शाखा सञ्चालन गरि व्यवसाय सुरु गर्ने तयारी गरेको हो । कम्पनीको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुन पासाङ, मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी र नायक राजेशले गरे । नायक हमाल एमइ ग्रुपको पार्टनर समेत हुन् । उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति पासाङले एमई गु्रपजस्तो नेपाली कम्पनीले नेपालको पर्यटन क्षेत्रमा कायापलट ल्याउने बिस्वास व्यक्त गरे । त्यसैगरि मन्त्री परिषदका पूर्व अध्यक्ष रेग्मीले नेपालमा लगानी गरेर नेपालमा ठूलो सङ्ख्यामा रोजगार सिर्जना गरेकोमा खुशी व्यक्त गर्दे नेपाललाई विश्वसामु चिनाउन महत्वपुर्ण भुमिका खेल्न आग्रह गरे । ‘नेपालीले नेपालमै’ नारासहित ट्राभल एन्ड टुर्स, होटेल, रेस्टुराँ, शिक्षा, सुपरमार्केट र कृषिलगायत क्षेत्रमा सेवा तथा वस्तुको व्यापारमा लगानी गर्ने सो कम्पनीले जनाएको छ । नेपालसहित एसिया, युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत विश्व बजारमा व्यवसाय विस्तार गरिने कम्पनीका अध्यक्ष कमलराज अधिकारीले जानकारी दिए ।
पहिलो पटक विभिन्न देशमा बस्ने नेपाली व्यवसायीद्वारा संचालित सो कम्पनीले विसं २०८२ सम्ममा देश विदेशमा गरी करिब ५०० नेपालीलाई रोजगारी प्रदान गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा बोल्दै अधिकारीले नेपाललाई विश्वमा चिनाउन र विश्वका पर्यटकलाई नेपालमा आकर्षित गर्न कम्पनी सुरु गरेको बताए । नेपालको विकासको लागि सम्भावना भएर पनि पछि परेको पर्यटन क्षेत्रलाई विशेष जोड दिई विदेशी लगानी भित्र्याउन कम्पनी लागि पर्ने छ । अध्यक्ष अधिकारीका अनुसार हालसम्म धेरै बहुराष्ट्रिय कम्पनीले नेपालमा शाखा कार्यालय खोलेर मात्र सेवा दिने गरेका छन् । एमइ गु्रपले पहिलो पटक केन्द्रीय कार्यालय काठमाडौंमा राखेर विश्व बजारमा व्यापार सञ्चालन गर्ने योजना कम्पनीले ल्याएको छ । कम्पनिको उद्घाटन समारोहमा जितु नेपाल मुन्द्रे, गायक हिमाल, सागर, तिलक बम मल्ललगातले सास्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिएका थिए । कार्यक्रम सञ्चालन नायिका निशा अधिकारीले गरेकी थिइन् ।