पर्यटन

तालतलैया सुकेर वन्यजन्तुलाई असर पर्न थालेपछि खोलाबाट पानीको व्यवस्थापन

तालतलैया सुकेर वन्यजन्तुलाई असर पर्न थालेपछि खोलाबाट पानीको व्यवस्थापन
वैशाख १६ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका तालतलैया खडेरीका कारण सुक्न थालेपछि खोलाबाट पानी व्यवस्थापनको काम सुरु भएको छ । मुख्यगरी चितवनको पूर्वी क्षेत्रमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनले तालतलैया सुख्खा हुन नदिन राप्ती खोलाबाट पानी पठाउन थालेको हो । नदीमा समेत पानी घटेकाले खोलाको बगर खनेर जंगलका ताल तलैयामा पानी पठाउन थालिएको वन कार्यालयका सचिव भरतप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार कुमरोज सामुदायिक वन बाघ, गैँडा, हात्ती, जरायो, चित्तल, बँदेललगायत वन्यजन्तुको बासस्थान र विचरण क्षेत्र हो । त्यसैका कारण त्यहाँ पर्यटकहरु आइरहेका छन् । पानीका तालहरु सुख्खा हुन थालेपछि वन्यजन्तुहरुले बासस्थान परिवर्तन गर्ने भएकाले तिनीहरुको संरक्षणका लागि यसरी तालमा पानीको व्यवस्थापन गर्न थालिएको हो । कुमरोज सामुदायिक वनमा वन्यजन्तुका लागि आठ वटा ताल छन् । तीमध्ये लामि, गैँडा, हेलिप्याड र जैविक ताल मुख्य हुन् । त्यहाँ रहेका झन्डै एक दर्जन गैँडाहरु यही तालमा रमाउने गर्दछन् । तर अहिले जैविक र राइनोलगायत चार वटा ताल सुख्खा हुन थालेकाले पानीको व्यवस्थापन गरेर तालमा पानी पठाउने काम थालिएको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, बूढी राप्ती उपभोक्ता समितिका कार्यालय सचिव गोविन्द दराईले बताए । अहिले करिब रु एक लाखको लगानीमा समुदायलाई समेत सहभागी गराएर पानीको व्यवस्थापन थालिएको छ । वर्षा नहुँदासम्म पानीको समस्या हुने भएकाले राप्ती नदीको पानी छेकेरै वनमा ल्याइएको हो । यो सामुदायिक वन झण्डै ७०० हेक्टरमा फैलिएको छ । वनमा पछिल्लो समयमा पर्यटन विकास भएपछि पर्यटकका लागि हात्ती सफारी र जीप सफारी कार्यक्रमसमेत सञ्चालन गरिएको छ । चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल अन्य क्षेत्रका तालमा समेत खडेरीले समस्या पारेको बताउँछन् ।

chitwan national park

विशेष