अपराध सुरक्षा

दर्ता भएका १७७ वटा हतियार बुझाइएन

दर्ता भएका १७७ वटा हतियार बुझाइएन
वैशाख १७ । स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर सुरु भएको हतियार संकलन अभियानअन्तर्गत चितवनमा तोकिएको समयभित्र जम्मा २९ जनाले मात्रै हतियार बुझाएका छन् ।चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार २७ वटा हतियार दर्तावाला रहेको र दुईवटा भने बिना दर्ताका भरुवा बन्दुक बुझाइएको छ । प्रहरीले दिएको समयसीमा यही वैशाख १५ गतेभित्र दर्ता भएका अन्य १७७ वटा हतियार भने बुझाइएको छैन । जिल्ला प्रशासन कार्यालय, चितवनमा कुल २०४ वटा हतियार दर्ता भएको तथ्यांक छ । “वैशाख १५ सम्म बुझाउने समय थियो, थापाले भने – आजदेखि निर्वाचन सुरक्षा योजनाअनुसार खानतलासी र कारबाही हुन्छ ।” अन्य हतियार कहाँ गए भनेर खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । जिल्लामा दर्ता भएका २०४ हतियारमध्ये ११५ वटा हतियारमात्रै नवीकरण भएको जिल्ला प्रशासन कार्यालय, चितवनका नायब सुब्बा हरिबाबु ढकालले जानकारी दिए । प्रहरीले गएको चैत महिनामा सूचना जारी गरी जिल्लामा अनुमति लिएका र नलिएका कुनै पनि हातहतियार र विस्फोटक पदार्थ बुझाउन निर्देशन दिएको थियो । निर्वाचन सुरक्षालाई मध्यनजर गरी हतियार बुझाउन भनिएको हो । तोकिएको समयभित्र नबुझाउनेलाई कानुनी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ । अन्य सम्भावित क्षेत्रको पहिचान गरी निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

Hatiyar

विशेष