अपराध सुरक्षा

एउटा मिसकलबाट सुरु भएको प्रेमले अन्ततः ज्यानै लियो

एउटा मिसकलबाट सुरु भएको प्रेमले अन्ततः ज्यानै लियो

वैशाख २८ । काभ्रे महाकाल चौरकी २८ वर्षीया लक्ष्मी तामाङले सन्चो बिसन्चो सोध्न साउदीमा रहेका श्रीमानलाई फोन गरिन् । तर त्यो फोन गल्तीबस सिन्धुपाल्चोक इन्द्रावतीका ५१ वर्षीय बद्रीप्रसाद तिमल्सिनालाई परेछ ।

वैदेशिक रोजगारको सिलसिलामा साउदीमा रहेका बद्रीले आफू पनि सिन्धुपाल्चोक निवासी भएको जानकारी गराएपछि लक्ष्मी र उनीबीच नियमित फोन सम्पर्क हुन थाल्यो । फोनबाट उनीहरूबीच मायापिरतीका कुरा मात्र नभई आर्थिक लेनदेनसमेत हुन थालेछ ।

साउदीमा रहेका बद्री र काभ्रेमा रहेकी लक्ष्मीबीचको फोनप्रेम सम्बन्ध करिब १८ महिनासम्म जारी रह्यो । यो अवधिमा बद्रीले लक्ष्मीलाई घर खर्च तथा ऋण सहयोगका नाममा करिब डेढ लाख रुपियाँसम्म पठाइदिए । तर त्यही घरखर्च र ऋण सहयोग लक्ष्मीका लागि काल बन्न पुग्यो ।

उनको कोटेश्वरस्थित होटल होम एन्ड गेस्ट हाउसमा हत्या गरिएको अवस्थामा वैशाख २४ गते शव फेला परेको छ । हत्याका अभियुक्त फोनप्रेमी बद्री पनि तीन दिनपछि पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार फोनप्रेमका कारण बद्री गत चैत २० गते स्वदेश फर्किएपछि उनीहरूबीच प्रत्यक्ष भेट भएको थियो । पहिलो भेटमा उनीहरूबीच सामान्य भलाकुसारी भएको थियो ।

प्रहरीका अनुसार दोस्रो भेटमा बद्रीले ऋणको कुरा उठाएपछि लक्ष्मीले खर्च भइसकेकाले दिन नसक्ने अडान राखेकी थिइन् ।

यसैबीचमा उनीहरूले पति पत्नी भएको भन्दै पटक पटक गरी तीन रात होटलमा बिताइसकेका थिए । ‘बद्रीले रकम फिर्ता माग्ने र लक्ष्मीले नदिने’ भनेकै कारण उनको हत्या भएको दाबी प्रहरीको छ । अपराध महाशाखाका प्रमुख दिनेश अमात्यले पैसा, प्रेम र अनैतिक सम्बन्धका कारण बद्रीले लक्ष्मीको हत्या गरेको जानकारी दिए ।

लक्ष्मीको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार बद्रीलाई पक्राउ गरिएको छ । दम्पती भनेर कोठा ‘बुकिङ’ गरेका बद्रीले नाम, ठेगाना र फोन नम्बर भने फरक लेखाएका थिए ।

प्रहरीका अनुसार बद्रीले लक्ष्मीको हत्या गर्न होटल नजिकैको एक पसलबाट १० रुपियाँमा प्लास्टिकको डोरीसमेत खरिद गरेका थिए ।

साँझको खाना खाएर रात बिताउनका लागि होटल पुगेका बद्रीले साँझ नै लक्ष्मीको हत्या गरी शव सिरकले छोपी रातिभरि कुरी बसेको जानकारी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले दिएका छन् । अभियुक्त बद्री बिहान सबेरै एयरपोर्टमा साथी लिन जान्छु भन्दै तीन जनालाई खानाको ‘अर्डर’ दिएर होटलबाट उम्किन सफल भएका थिए । तर उनी दिउँसो ११ बजेसम्म पनि होटलमा नफर्केपछि ढोका खोली हेर्दा लक्ष्मीको हत्या गरिएको पत्ता लागेको थियो ।

प्रहरीले पक्राउ परेका अभियुक्त बद्रीको साथबाट ९५ हजार नगद, लक्ष्मीले प्रयोग गरेको मोबाइल, तिलहरी र टप लगायतका सुनका गरगहनाहरू बरामद गरेको छ ।

गोरखापत्र

विशेष