अपराध सुरक्षा

लाखौ‌ डलरसहित ६ चिनियाँ पक्राउ

लाखौ‌ डलरसहित ६ चिनियाँ पक्राउ

वैशाख २८ । प्रहरी प्रशासन चुनावी तयारीमा व्यस्त रहेको मौका छोपी ठूलो मात्रामा डलर तस्करी गर्न खोज्ने चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाले चार करोड ७५ लाख रुपैयाँबराबरको अमेरिकी डलर र विभिन्न देशका अवैध मुद्रासहित ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूले लामो समयदेखि नेपालबाट डलर तस्करी गर्दै आएको प्रहरीले जनाएको छ ।

महाशाखाको टोलीले सुराकीका आधारमा नागढुंगा चेकपोस्टबाट बुधबार बिहान २५ जना चिनियाँलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूमध्ये ६ जनाको साथबाट अवैध विदेशी मुद्रा बरामद भएको महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले बताए । पक्राउ पर्नेमा याओ जिनवान, ताङ, युछिङ, झेङ सुयान, झाओ जिनछेन, सी झियुन, लियू छियोमोई छन् । उनीहरू झोला, जुत्ता तथा थर्मसभित्र विदेशी मुद्रा लुकाएर केरुङ नाका हुँदै तस्करी गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ । बिहीबारदेखि केरुङ नाका बन्द हुने भएकाले बुधबार नै उनीहरू चीन जान लागेका थिए ।

उनीहरूबाट तीन लाख ४९ हजार तीन सय अमेरिकन डलर, ६ हजार आठ सय ५० युरो, १७ हजार सात सय ८१ चिनियाँ युआन, २९ लाख ५० हजार जापानिज एन, दुई हजार दुई सय, स्विस फ्रेंक, एक हजार चार सय अस्ट्रेलियन डलर, एक हजार एक सय पाउण्ड स्टर्लिङ तथा २४ हजार नेपाली बरामद भएको छ ।

उनीहरूले ठमेल क्षेत्रबाट उक्त अवैध डलर संकलन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार ठमेलका मनि ट्रान्सफर तथा होटेलहरूकै मिलेमतोमा उनीहरूले अवैध तरिकाले डलर साटेका हुन्। चिनियाँहरूले वास्तविक सटही दरभन्दा प्रतिडलर पाँच रुपैयाँ बढी तिर्ने भएकाले उनीहरूले चिनियाँलाई अवैध रूपमा बेच्ने गर्दछन्। नेपाल राष्ट्र बैंकले डलर सटही गर्ने अधिकार लिएका मनि चेन्जर तथा होटेलहरूमा कडा निगरानी नगर्ने भएकाले डलर तस्करी बढेको हो। जसकारण नेपाली बजारमा डलरको अभाव छ ।

नयाँ पत्रिका 

चिनीया नागरिक

विशेष