पर्यटन

दिनहुँ बाघ हेर्न पाइएपछि पर्यटक बढ्दै

दिनहुँ बाघ हेर्न पाइएपछि पर्यटक बढ्दै

बर्दिया राष्ट्रिय निकुञ्जमा केही महिनायता दिनहुँ पाटेबाघ देख्न पाइएपछि पर्यटकको संख्यामा वृद्धि भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक दिनहुँ पाटेबाघ देख्न पाएपछि रमाउन थालेका छन् ।

विगत केही महिनादेखि निकुञ्जमा पाटेबाघसँगै गैँडा, जंगली हात्तीलगायतका वन्यजन्तु दिनहुँ देख्न पाइएको निकुञ्ज प्रशासनले बताएको छ । पर्यटकको सिजन सुरु हुने बेलामै बर्दिया निकुञ्जमा दिनहुँ पाटेबाघ देखिएपछि निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको बढ्दो आगमनले निकुञ्ज आसपास ठाकुरद्वाराका होटल व्यवसायी पनि खुसी भएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको बासस्थान राम्रो भएकाले गर्मी बढ्न थालेपछि पानीमा बाघ पौडीन आउनाले निकुञ्जभित्रै रहेको कर्णाली नदीको भँगालो किनारमा रहेको तिनकुनेमा दिनहुँ पाटेबाघ देख्न पाइएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए ।

पचासवटा वयस्क, छवटा अर्ध वयस्क पाटेबाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा ३७ वटा गैँडा, १०० भन्दा बढी जंगली हात्ती, ३० हजार भन्दा बढी चित्तललगायतका वन्यजन्तु रहेका छन् । तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्र मानिने बर्दिया राष्ट्रिय निकुञ्ज ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा थालिएको बाघ गणना सकिएकाले अब केही दिनमा बाघको संख्या सार्वजनिक गरिने बताइएको छ । यस पटकको बाघ गणनामा बर्दियामा पाटेबाघको संख्या वृद्धि हुने निकुञ्जले अनुमान गरेको छ ।

bardiya national park

विशेष