अर्थ कर्पोरेट

साझाको शाखा भारतको सिलगुढीमा पुनः सञ्चालन हुने

साझाको शाखा भारतको सिलगुढीमा पुनः सञ्चालन हुने

काठमाडौंः साझा प्रकाशनले भारतको सिलगुढीमा पुनः शाखा सञ्चालन गर्ने भएको छ ।

आन्तरिक अव्यवस्थापनका कारण केही वर्षयता बन्द रहेको त्यहाँको शाखा खोल्न आवश्यक पूर्वाधार पूरा भएकाले शाखा सञ्चालन गर्न लागिएको प्रकाशनले जनाएको छ ।

भारतको विभिन्न क्षेत्रबाट काठमाडौँमा साहित्यिक सम्मेलनका लागि आएका नेपालीभाषी साहित्यकारहरुलाई सोमबार साझा प्रकाशन र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले स्वागत गर्न आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माले सिलगुढीमा चाँडै साझाको पुनः शाखा सञ्चालन गर्ने जानकारी दिँदै सबै स्रष्टाहरुको साझा चौतारीका रुपमा संस्थालाई रुपान्तरण गर्न पछिल्लो व्यवस्थापनले भरमग्दुर प्रयास गरेको बताए ।

कार्यक्रममा नेपाल र भारतका दुवै मुलुकको साहित्यिक कृतिको सहज आदानप्रदान र पठन संस्कृतिको विस्तारमा जोड दिँदै दुवै देशका स्रष्टा र अधिकारीहरुले त्यसका लागि थप प्रतिबद्धत हुने जनाएका छन् ।

भारतीय साहित्यकारका तर्फबाट डा। कविता लामाले साझाका कृति र गरिमा पत्रिकाकै कारण आफूहरुको साहित्यिक यात्रा आरम्भ भएको जनाउँदै साहित्यिक सम्बन्ध विस्तारका लागि दुवैतर्फबाट पहल हुनुपर्ने बताए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले सिलिगुढीको मङ्गलदीपमा साझाको शाखा विस्तार गर्न आफूहरुले पनि सहयोग गर्ने भन्दै साझा प्रकाशन दुवै देशका स्रष्टाहरुको पुल बन्न सक्नुपर्ने बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक जयन्तीका अवसरमा आयोजित त्रिदिवसीय साहित्यिक सङ्गोष्ठीमा भाग लिन गान्तोक, आसाम, कोलकोता, कालिङपोङ, दार्जिलिङलगायत स्थानबाट १२ जना साहित्यकार गत साता नेपाल अाएका थिए।

Sajha Publiction

विशेष