अपराध सुरक्षा

ठगी गर्नेलाई पीडितले पक्रेर दिल्लीबाट ल्याए पीडितले

ठगी गर्नेलाई पीडितले पक्रेर दिल्लीबाट ल्याए पीडितले

जेठ ८ । तपाईंलाई रकम अपुग भयोजस्तो छ। हामी थप ६ लाख रुपैयाँ दिन तयार छौं,’ तिङ्ला–९, सोलुखुम्बुका फुर्वा शेर्पाले डा. धनपति महतोलाई भाइबरमा सन्देश पठाए, ‘बुबाले पैसा पठाइदिनुभयो, कहाँ भेटेर थप रकम दिनुपर्ने हो ?’ फुर्वासहित ७ जना युवा दिल्लीमा मार्च २० देखि होटलमा बसिरहेका थिए ।

धनुषाका महतो उनीहरूसँग प्रतिव्यक्ति ९ लाख रुपैयाँ लिएर दिल्लीमै सम्पर्कविहीन भएर बसेका थिए । शेर्पाहरूले आफूहरू ठगिएको महसुस गरेपछि उनलाई समात्न थप रकम दिन तयार भएको भाइबर सन्देश पठाएका थिए । महतो दक्षिण कोरिया, क्यानडा, अस्ट्रेलिया, रुसलगायत देशमा जाने युवाहरूलाई दिल्लीमा बसेर ठगी गर्थे । उनीविरुद्ध वैदेशिक रोजगार विभागमा दर्जनौं परेका थिए । फुर्वाको टोलीलाई पनि उनैले दक्षिण कोरिया लैजान्छु भन्दै दिल्लीमा झुलाएर राखेका थिए। एउटा पीडितले फेसबुकमा उनीविरुद्ध विभागले जारी गरेको पक्राउ पुर्जी र फोटो हालेको पोस्ट उनीहरूले फेला परेपछि पक्राउ गरेर नेपाल लैजाने योजना बनाएका थिए, उनीहरूले ।

फुर्वाको म्यासेज हेर्नासाथ धनपतिले तुरुन्तै दिल्लीको न्यु फ्रेन्ड्स कोलनी एनएफसीमा भेट्न बोलाए, ‘तिमीहरू सबै नआऊ । शंका हुन्छ । तीन जना मात्रै आउनू ।’ सोलुखुम्बुका फुर्वाछिरी शेर्पा, फुर्वा शेर्पा, आङफुरी शेर्पा, पेम्बा शेर्पा र दोलखाका साजन खडका दुईवटा टेम्पो चढेर गए । तीन जना कोलनीमा छिरे । तीन जना टेम्पोमै बसिरहे । ‘तपाईंले हामीलाई भोलि–भोलि भन्दै झुक्याउनुभयो । साथीहरू सबै तनावमा छन् । हामीसँग लिएको रकमको कागज बनाउनुपर्‍यो । त्यसपछि मात्रै छाडिदिन्छु,’ छिरीले आवेगमा नआई भने, ‘जाऔं हाम्रो होटलमा । त्यहाँ कागजात बनाऔं । अनि छाडिदिन्छौं ।’ महतोले यसलाई सामान्य रूपमा लिए ।

दिल्लीमा कागज बनाइदिन उनलाई गाह्रो थिएन। उनीहरूलाई राखिएको होटलमा पुगेर सबैका लागि छुट्टाछुट्टै कागजात बनाइदिए । त्यसपछि आङफुरीले अर्को सर्त राखे, ‘अब तपार्इं हामीसँग नेपाल जानुपर्छ। नेपाल गएर हाम्रो सबै रकम दिनुहोला । त्यसपछि दिल्लीमा आएर आफ्नो काम गर्नुहोला ।’ उनीहरूले चार दिनदेखि एउटा गाडी भाडामा लिएर तयारी अवस्थामा राखेका थिए । महतो भाग्न सक्ने स्थितिमा थिएनन् । उनी खुरुखुरु गएर गाडी चढे । उनीहरूले विभागद्वारा जारी पक्राउ पुर्जीबारे उनलाई केही थाहा दिएनन् । दिल्लीबाट रुपैडिया हुँदै गाडीमा हालेर ल्याए ।

सीमा क्षेत्रनजिक महतोले जब भारतीय प्रहरी देखे, कराउन थाले, ‘मलाई यिनीहरूले अपहरण गरेर नेपाल लैजाँदै छन् । म भारतीय नागरिक हुँ ।’ पीडितहरूले घटनाबारे बताएपछि प्रहरीले छाडिदियो । भन्सार क्षेत्रमा फेरि भारतीय प्रहरी देख्नेबित्तिकै उनी उसरी नै चिच्याए, ‘मलाई अपहरण गरे ।’ फुर्वाले भारतीय प्रहरीलाई विभागद्वारा जारी पक्राउ पुर्जी देखाए ।

भारतीय प्रहरीले नेपालको प्रहरीलाई बोलाएर जिम्मा लगायो। ‘नेपालगञ्जको प्रहरीले जिम्मा लिएपछि हामीलाई ठूलो राहत मिल्यो,’ फुर्वाले भने, ‘प्रहरीले तिमीहरू असली प्रहरीको काम गर्न सफल भयौ भन्दै हामीलाई धन्यवाद दिए ।’ नेपालगञ्ज प्रहरीले सबैसँग बयान लियो । महतो मानव तस्करीमा संलग्न रहेको पुष्टि हुने फाइलसमेत बनाएर दुई जना प्रहरीको साथमा काठमाडौं पठाइदियो ।

काठमाडौं प्रहरीले महतोलाई विभागको जिम्मा लगायो । ‘अहिले विभागले मुद्दा दर्ता गरेको छ। अनुसन्धान जारी राखेको छ,’ शेर्पाले भने, ‘उनलाई दिल्लीबाट काठमाडौंसम्म ल्याउन हाम्रो ८ लाख रुपैयाँभन्दा बढी खर्च भयो ।’ वैदेशिक रोजगार विभागका अनुसार विभिन्न देश पठाइदिने बन्दै महतोले करोडौं रुपैयाँ ठगी गरेको उजुरी परेको छ । ‘हामी दलाललाई पक्रेर दिल्लीबाट काठमाडौंसम्म ल्याउन सफल भयौं । तर उनीसँग सम्पर्क गराउने ट्रम ट्राभल्स एन्ड टुरका निर्देशक रामचन्द्र राय र विराटनगरका विजयबहादुर सिंह फरार छन्,’ छिरी शेर्पाले भने, ‘उनीहरूको पनि खोजी गरिरहेका छौं।’

कान्तिपुर

Pidit Youba

विशेष