बजेटको कार्यविधि बनाएर केही दिनमै विनियोजन दिईने
सोमवारको वक्तव्यसँगै बजेटको अख्तियारी पनि प्रदान गरिसकिएको अर्थ मन्त्रालयले प्रश्ट पारेको छ । बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थ मन्त्री कृष्णबहादुर महराले सोमवारको बजेट वक्तव्यसँगै बजेटको अख्तियारी पनि प्रदान गरिसकिएको बताए ।
‘बजेट भाषणसँगै सोमवारबाटै बजेटको अख्तियारी दिइएको छ,’ मन्त्री महराले भने, ‘औपचारिकताका लागि १/२ दिनमा पत्रमार्फत सबै निकायलाई बजेटको अख्तियारी थमाईने छ ।’
अर्थमन्त्री महराले नयाँ बजेट नेपालको ऐतिहासिक बजेट भएको दावी गरे । पूर्ण आर्थिक अधिकारसहित स्थानीय तहलाई बजेट विनियोजन गरिएको उनले बताए । संघीय बजेटले अब कार्यक्रम स्वीकृतिका लागि केन्द्रमा धाउनुपर्ने प्रथाको अन्त्य भएको उनले बताए ।
‘स्वतः खर्च गर्ने अख्तियारीको व्यवस्थाले खर्च गर्ने अख्तियारीको अभावमा बजेट कार्यान्वयन हुन नसक्ने व्यवस्थाको अन्त्य भएको छ,’ मन्त्री महराले भने । बजेट कार्यान्वयनका लागि समयवद्व कार्ययोजनाको तयारीमा मन्त्रालय लागेको उनले बताए ।
सरकारले सोमवार कुल १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि स्थानीय तहका लागिमात्र एकमुष्ठ २ खर्ब २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।