फोटो

भेरी नगरलाई पूर्वाधार विकास गरि नमुना नगर बनाउने उम्मेदारहरुको चुनावी अजेन्डा

भेरी नगरलाई पूर्वाधार विकास गरि नमुना नगर बनाउने उम्मेदारहरुको चुनावी अजेन्डा

जाजरकोट, बैशाख - २७ । जिल्ला सदरमुकाम भएर पनि विकासको दृष्ट्रिकोणले निकै पछि परेको जाजरकोटको भेरीनगरपालिकामा स्थानिय तहको निर्वाचनमा सवै उम्मेदवारहरुले नगरलाई नमुना बनाउने उद्घोष गरेका छन् । नगरपालिका भएको यो बैशाखमा एक बर्ष पुरा भएका छ तर, नगरभित्र हुनु पर्ने आधारभूत पूर्वाधारको अहिले सम्म विकास हुन सकेको छैन । १३ ओटा वडा रहेको यस नगरपालिकामा छिन्चु जाजरकोट सडकले केही वडालाई मात्र सडक सञ्जालले समेटेको छ । धेरै वडाहरु अहिले सम्म सडक सञ्जालको पहुँचमा पुग्न सकेका छैनन् । विद्युतको केन्द्रिय प्रशारण लाईनले अहिले सम्म जिल्ला सदरमुकाम जोडिएको छैन । स्थानिय लघु जलविद्युत आयोजनाले जेनतेन विद्युत आपुर्ती गदै आएको भएपनि विद्युत उत्पादन न्युन र माग धेरै भएकोले भरपर्दो विद्युत सेवा नगरवासीले उपभोग गर्न पाईरहेका छैनन् । नगरभित्र खानेपानी र सिचाईको उत्तिकै असुविधा छ । भौतिक पुर्वाधारको दृष्ट्रिकोणले नगरभित्र हुनु पर्ने पुर्वाधारको विकास हुन नसकेको यस नगरमा मेयरका उम्मेदवारले भौतिक पुर्वाधारको विकास गरि नमुना नगर बनाउने चुनावी अजेन्डा अघि सारेका छन् । दिनप्रतिदिन जसरी मौसमी तापक्रम बढिरहेको छ त्यसरी नै चुनावी माहोल पनि तातिदै गएको छ । स्थानिय तहको चुनाव आउन अव केही दिन मात्र बाँकी छ । चुनावी माहोल आफ्नो पक्षमा पार्न दल र उम्मेदवारहरु रातदिन नभनेर प्रचार प्रसारमा ब्यस्त छन् । उम्मेदवारहरु अहिले घरदैलो अभियानमा छन् । आफुले जिते यो नगरलाई भौतिक सुविधाको दृष्ट्रिकोणले मोडेल नगर बनाउने भन्दै भोट मागिरहेका छन् । त्रिपक्षीय भिडन्त हुने यस नगरमा सवै उम्मेदवारले आफुले नै जित्ने दावी गरेका छन् । नेपाली काँग्रेसबाट मेयरको उम्मेदवार रहेका सनतकुमार कार्कीले नगरको विकासको लागी आफुलाई भोट दिन आग्रह गर्दै चुनाव जिते नगरका सवै वडामा सडक सञ्जालले जोड्ने, विद्युतको केन्द्रिय प्रशारण लाईन सवै वडामा जोड्ने र लघुजलविद्युत उत्पादन गरी ग्रामिमण विद्युतिकरण गर्ने, सवै वडामा खानेपानीको पहुँच पुरयाउने, सवै खेती योग्य जमिनमा सिंचाईको सुविधा पुरयाउने, सञ्चार सुविधा विस्तार, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका क्षेत्रको पुर्वाधार विकास गरि समृद्ध नगरको विकास गर्ने चुनावी प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् । उनले चुनावी घोषणा पत्रमा उल्लेख गरेका कुरा चुनाव प्रचारको क्रममा बताउने गरेका छन् । त्यस्तै एमालेका मेयरका उम्मेदवार चन्द्रप्रकास घर्तीले काँग्रेस उम्मेदवारका जस्तै पुर्वाधार विकासमा जोड दिएका छन् । सडक यातायात, विद्युत, सञ्चार, पर्यटन, कृषि, खेलकुद, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको विकास गर्ने प्रतिवद्धता गरेका छन् । ‘भष्ट्राचार मुक्त नगरको विकास गर्ने र आधारभूत पूर्वाधारको विकास गर्ने मेरो पहिलो प्राथमिकता हो ’घर्तीले भने ‘मैले जिते भने नगरलाई मोडेल बनाउनेछु ।’ माओवादी केन्द्रबाट भेरीनगरमा मेयरको उम्मेदवार रहेका ढकवीर रानाका चुनावी अजेन्डा पनि काँग्रेस र एमालेका उम्मेदवार जस्तै छन् । उनले पनि पुर्वाधार विकासमा जोड दिने दावी गरेका छन् । सडक, विद्युत, सञ्चार, सिचाई, खानेपानी लगायतका आधारभूत पूर्वाधारको विकास गरी भेरी नगरलाई नमुना बनाउने बताएका छन् । ‘मेरोे प्राथमिकता भनेको सवै गाँउ र वडामा सडक पुरयाउने हो । सडक भनेकै विकासको मेरुदण्ड हो । त्यसैले सडक यातायातको विकास गरी नमुना नगर बनाउँछु ’उनले भने । राप्रपाकी मेयरकी उम्मेदवार शोभा शाहीले पुर्वाधार विकासका साथै महिलाहरुको आर्थिक सामाजिक अवस्थामा उल्लेख्य परिवर्तन गर्ने बताएकी छन् । मैले मेयर जिते घरेलु हिंसा, महिला शसक्तिकरण, रुढीवादी परम्परा लगायतका सामाजिक विकृत हटाउने छु उनले भन्दै आएकी छन् ।
दीपबहादुर घर्ति/जाजरकाेट 

विशेष