पर्यटन

इलाममा ६४ हजार पर्यटक भित्रिए

इलाममा ६४ हजार पर्यटक भित्रिए

इलाम: पर्यटकीय क्षेत्र इलाममा यो वर्ष ६४ हजार पर्यटक भित्रिएका छन् । पर्यटन सूचना केन्द्रका अनुसार गएको साउनदेखि वैशाखसम्ममा सो संख्याका पर्यटक भित्रिएका हुन् ।

अघिल्लो वर्ष भने जिल्लामा १४ हजार ८४० पर्यटक भित्रिएको सूचना केन्द्रको तथ्याङ्क छ । पश्चिमी जिल्लाका पर्यटकको रोजाइँमा इलाम पर्ने गरेको छ । त्योसँगै मोरङ, सुनसरी, झापालगायत तराईका जिल्लाबाट इलाम घुम्न आउने थुप्रै छन् ।

छिमेकीमूलुक भारतसहित संयुक्त राज्य अमेरिका, दक्षिण अफ्रिका, फ्रान्स, अर्जेन्टिना, क्यानाडा, ताइवानलगायतका देशबाट पर्यटक भित्रिएको उक्त केन्द्रका अधिकृत गगन घिमिरेले जानकारी दिए। ‘‘पछिल्लो वर्ष इलाम आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ’’ उनले भने ।

मौसम सफा हुने समयमा इलाममा धेरै पर्यटक भित्रिने गरेका छन् । कात्तिक, मङ्सिर र पुस महिनामा इलाममा धेरै पर्यटक आएका छन् । सूर्योदय अवलोकनको याम भएकाले सङ्ख्या यी तीन महिनामा धेरै छ । कात्तिकमा १६ हजार १४७, मङ्सिरमा २२ हजार ४६०, पुसमा १४ हजार ४७५ पर्यटक भित्रिएका थिए । अन्य महिनामा भने दुई सयदेखि तीन/चार हजारसम्म पर्यटक आउने गरेका छन् ।

जिल्लाको पर्यटकीय गन्तव्यमा पुग्ने सडक स्तरोन्नतीमा राज्यले लगानी गरेपछि त्यसको निकै राम्रो प्रभाव पर्यटनमा परेको हो । जिल्लाका श्रीअन्तु, गजुरमुखी, सन्दकपुर, माइपोखरी, पशुपतिनगर, कन्याम, इलाम बजारलगायतका पर्यटकीयस्थलमा पर्यटकको चाप बढेको छ । सडक पहुँचको विकाससँगै पर्यटकीय क्षेत्रको मुहार पनि फेरिँदै गएको छ ।

सरकारले पर्यटकीय क्षेत्रमा अन्य भौतिक पूर्वाधारको विकासमा पनि ठूलो रकम खर्च गर्न थालेको छ । सम्भावनायुक्त पर्यटकीय क्षेत्रको सौन्दर्य बढाउन र अन्य पूर्वाधार विकासमा लगानी बढाएपछि इलाम आउने पर्यटक बढेको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौराली बताउँछन्।

यहाँका पहाडको पर्यटकीय क्षेत्रमा पूर्वाधार बनाउन समितिले डेढदेखि दुई करोड रुपैयाँको हाराहारीमा बजेट खर्चेको छ । पर्यटन विकासमा निजी क्षेत्रको लगानी पनि बढ्दै गएको छ । इलामका पर्यटकीय क्षेत्रमा ठूलो लगानी गरेर होटल निर्माण हुँदैछन् । करोडभन्दा बढीको लगानीमा बनेका केही होटल सञ्चालनमा छन् भने जिल्लाको दर्जन बढी ठाउँमा अहिले पनि होटल निर्माण भएकाले पर्यटकलाई सहज भएको छ । 

विशेष