अपराध सुरक्षा

‘क्यू नेट’ नेटवर्किङ व्यवसाय गर्ने १४ जना पक्राउ, के हो क्यू नेट ?

‘क्यू नेट’ नेटवर्किङ व्यवसाय गर्ने १४ जना पक्राउ,  के हो क्यू नेट ?

काठमाडाैँः ‘क्यूनेट’ कम्पनीको नामबाट नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आएका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि अनलाइन तथा बिभिन्न माध्यमबाट सर्वसाधारणलाई क्यूनेटको सदस्य बनाउने भन्दै रकम उठाउँदै आएको भन्ने उजुरीका आरामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोली १४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा प्रकृति बुढाथोकी, श्वेता बस्नेत, सृजना सिंह, अंकिता श्रेष्ठ, विकल्प श्रेष्ठ, क्षितिज पौडेल र नरेश मल्ल छन् । यसैगरी ओम गुरुङ, बिशन गुरुङ, किरण जोशी, सुमित मानन्धर, सौरभ गोयन्का, सुमित श्रेष्ठ र प्रमेश मानन्धरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई आइतबार साँझ काठमाडौँको बानेश्वरस्थित सिद्धार्थ फूडल्याण्ड प्रालीबाट प्रकाउ गरेको हो । सो पार्टीप्यालेसबाट क्यूनेट’को बन्द प्रशिक्षण सञ्चालन भइरहेको सूचनाको आधारमा प्रहरीले १०२ जनालाई नियन्त्रणमा लिएको थियो ।

तर, प्रारम्भिक छानविनमा १४ जना सक्रिय अगुवा पाइएकाले उनीहरुलाई नियन्त्रणमा लिएर ठगी गरेको कसुरमा कानुन बमोजिम अनुसन्धान कारवाही अघि बढाइएको सीआइबीले जनाएको छ । उनीहरुले बिभिन्न आकर्षक योजनाको प्रलोभन देखाएर प्रतिव्यक्ति सदस्यता बाफत न्युनतम ३ लाख ५० हजार रुपैयाँको दरले रकम उठाउने गरेको पाइएको छ ।

के हो क्यू नेट

‘क्यू नेट’लाई ‘क्वेस्ट नेट’बाट पनि चिन्ने गरिन्छ । क्यू नेट प्रदायक कम्पनी भनेर चिनिने क्वेस्ट नेट र गोल्ड क्वेस्ट र आइक्यू लिमिटेड हङकङको क्यू आई ग्रुपबाट सन्चालित छ ।

नेपाल सरकारले सन् २००३ देखि नै नेटवर्किङ व्यवसायमा प्रतिबन्ध लगाएको छ । यसअघि नेपालमा अवैधरुपले चलाइएका गोल्ड क्वेस्ट, हर्बो, युनिटी लगायत नेटवर्किङ व्यवसायमा रोक लगाइएको छ । नेटवर्किङ व्यवसायलाई नेपालसहित भारत, अमेरिका, श्रीलंका, इरान, सुडान साउदी अरेबिया लगायत देशले पनि प्रतिबन्ध लगाएका छन् । क्यू नेट नेटवर्कबाट ठगिएकाले अनुसन्धान ब्यूरोमा सम्पर्क सक्ने व्यूरोले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विशेष