आर्थिक वृद्धिदर बढेको जस सरकारले नलिए पनि हुन्छ, जसरी आयो त्यसरी नै जान सक्छ
डा. चन्द्रमणि अधिकारी
हरेक देशको आर्थिक वृद्धिदरको आँकडा हरेक महिना विश्व बैंकले निकाल्ने गर्छ । नेपालको तथ्यांक विभागले निकाल्ने आँकडालाई पनि आधार मानिन्छ । नेपालको कुला गार्हस्थ उत्पादनमा विप्रेषण आप्रवाहको योगदान ठूलो छ । हालै सार्वजनिक भएको नेपालको आर्थिक वृद्धिदर ७ दशमलव पाँच प्रतिशत पुगेको तथ्य सार्वजनिक भइरहँदा जस लिनेहरुको होडबाजी पनि सुरु भएको छ ।
आर्थिक वृद्धिदर यसपटक माथि पुग्नुमा के के कारण छन भनेर खोज्नु ठीक हुन्छ । र के ती कारणहरु सरकारकै कारण सिर्जना भएका हुन त ? यो विषयमा पनि विश्लेषण गर्नु पर्ने हुन्छ । अघिल्लो वर्ष शुन्य दशमलव ३ प्रतिशत आर्थिक वृद्धिदर थियो । भूकम्प, नाकाबन्दी, चरम लोडसेडिङका कारण मुलुक जर्जर भएको थियो । यसपटकदेखि भूकम्पको पुनर्निर्माणले केही गति लियो, नाकाबन्दीको असर कम हुँदै गयो, ऊर्जा संकट त लगभग हट्यो । यस्ता सकारात्मक वातावरणले आर्थिक वृद्धिदर उच्च भयो । यो वर्ष आर्थिक वृद्धिदर पाँच भन्दा माथि पुग्छ भन्ने पहिलेकै आँकलन हो । यसमा केही कुराहरुमा सरकारले जस लिन सक्ने ठाउँ छ । जस्तो कि ऊर्जा संकट न्यूनिकरण भएको छ । कुशल व्यवस्थापन यसमा जोडिन्छ । यसकारण सरकारले जस लिन मिल्छ ।
तर यसअघि कै प्रशासन, सरकारले विजुली आयातका लागि तयार पारेको पूर्वाधार, भारतसँग बिजुली किन्ने सम्झौता आदिमा त प्रचण्ड सरकारले कसरी जस लिन मिल्छ ? संसदमा अघिल्ला सरकारका प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले आर्थिक वृद्धिदर उच्च हुनुमा पनि आफ्नै सरकारको बहादुरी हो झै गरी वर्णन गर्नुभयो । तर यसमा उहाँको सरकारको सामान्य योगदान छ । बाँकी अरु फ्याक्टरहरु छन् । जस्तो कि नेपालको अर्थतन्त्र भारतको अर्थतन्त्रमा निर्भर छ । भारतमा मूल्यवृद्धि नियन्त्रणको दिशामा गयो । त्यसको असर नेपालमा पनि पर्यो ।
लोडसेडिङ अन्त्यको दिशामा पुगेपछि उद्योग कलकारखाना चल्न थाले । रोजगारी सिर्जना हुँदै गयो । उत्पादन बढ्यो । अर्कोतिर भूकम्पको पुनर्निर्माणकालागि पनि धेरै रकम बजारमा गयो । पहिलेकै संयन्त्रले ऊर्जा र कृषिमा १५ प्रतिशत लगानी हुनै पर्ने व्यवस्था राष्ट्र बैंकमार्फत लागू गरिएको थियो । त्यसले पनि काम गर्यो । यस्ता धेरै आर्थिक अवयवहरु छन् । जसका कारण यसपटक आर्थिक वृद्धिदर उच्च देखियो ।
तर यसमा सबैभन्दा महत्वपूर्ण कुरा के भने अहिलेको आर्थिक वृद्धिदर पहुना हो । आउँछ जान्छ । यहि दरको आर्थिक वृद्धि आगामी तीन आर्थिक वर्षका लागि पनि कायम गर्न सकियो भने चाहीँ दिगो हुन्छ । नत्र गत वर्ष र अहिलेको आर्थिक वृद्धिदरको औसत निकालौ त त्यही ३ प्रतिशत हुन आउँछ । अनि यसको के अर्थ भयो त ? एक वर्षको मात्रै हेरेर ।
अघिल्लो वर्ष नेपालमा नेपालमा ४२ लाख मेट्रिक धान फल्यो । यसपटक ५२ लाख मेट्रिक टन् । वर्षात राम्रो हुँदा फसल राम्रो हुन्छ । यति बुझेपछि सरकारले सिंचाई, पूर्वाधार, सडक आदिमा लगानी गर्नु पर्छ । पूँजीगत बजेट खर्च नै हुँदैन । त्यो पनि खर्च गर्ने, विकास गर्ने लक्ष्य राख्नु पर्छ । त्यसो गर्न सकियो भने अहिलेको आर्थिक वृद्धिदरलाई कायम राख्न सकिन्छ । नत्र संयोगले प्राप्त भएको आर्थिक वृद्धिदर जसरी आयो त्यसैगरी जान्छ ।
(डा. अधिकारीसँग गरिएको कुराकानीमा आधारित)