अपराध सुरक्षा

सप्तरीः वोक्सिको आरोपमा ३ जना महिला कुटिए

सप्तरीः वोक्सिको आरोपमा ३ जना महिला कुटिए

असार - ५ । नेपालको संविधानले पुरुष सरह समान अधिकार र प्रतिनिधित्वको सुनिश्चितता गरेपनि सप्तरीमा भने रुढिवादी परम्परा र कुरीतिका कारण हालसम्म पनि महिलाहरु शारीरिक तथा मानसिक रुपमा प्रताडित हुने क्रम रोकिएको छैन । दाईजो तथा वोक्सिको आरोपमा महिलाहरुलाई कुटपिट गर्ने र मानसिक यातना दिने क्रम जारी छ ।

यसैक्रममा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ७ (तत्कालिन हरिपुर गाविस–८) का तीन जना महिला सोमवार वोक्सिको आरोपमा कुटिएका छन् । स्थानीय कारीचन्द चौधरीका ५५ वर्षीया श्रीमती हरानीदेवी, उनकी वुहारी २१ वर्षीया कल्पना र घरमा काम गर्न आएकी सिरहाको लहान निवासी ६० वर्षीया सावित्रिदेवी महतोलाई वोक्सिको आरोपमा कुटपिट गरिएको छ ।

स्थानीय सुखैर चौधरी तथा उनका दुई भाइ छोराहरु देवप्रकाश र देवकुमारले तीनै जना महिलालाई कुटपीट गरेको स्थानीयले जानकारी दिएका छन् । कुटपिटका कारण हरानीदेवीको हात भाँचिएको र अन्य दुई जनालाई शरीरका विभिन्न भागमा चोट लागेको पीडित हरानीकी वुहारी ललिता चौधरीले जानकारी दिएकी छिन् ।

उनका अनुसार शारीरिक तथा मानसिक रुपमा अस्वस्थ रहेका देवप्रकाशलाई हरानीले नै टुनामुना गरेर विरामी वनाएको भन्दै तीन जना वावु–छोरा मिलेर कुटपिट गरेका थिए । कुटपिटपछि तिनै जनाविरुद्ध ईलाका प्रहरी कार्यालय कडरवोनामा निवेदन दिएपनि उनीहरुलाई कारवाही नभएको ललिताले आरोप लगाएकी छिन् ।
ईलाका प्रहरी कार्यालय कडरवोनाका ईन्स्पेक्टर राजेन्द्रप्रसाद यादवले पीडितकातर्फवाट निवेदन दिईएको र आरोपीको खोजी कार्य भईरहेको वताएका छन् ।

जानकारी अनुसार वोक्सिको आरोप नभई महिला–महिलाका विचमा भएको झगडामा सुखैर र उनका परिवारले समेत महिलामाथि कुटपिट गरेको वुझिन आएको उनले जानकारी दिए ।

सप्तरीमा यसअघि पनि पटक पटक वोक्सिको आरोपमा महिलाहरुलाई कुटपिट गर्ने तथा धामी लगाउने नाममा अगुल्टोले झोस्ने काम हुँदै आएको छ । यसअघि डाढा १ की ३२ वर्षिया फुलकुमारी मिश्रा, वोरिया ८ की ३२ वर्षिया वेचनीदेवि यादव, मोहनपुर गाविस १ की २८ वर्षिया ललिता भनिने लिला भगत लगायतका महिलाहरु वोक्सिको आरोपमा प्रताडित भईसकेका छन् ।

यता, अधिकारकर्मी जंगवहादुर सिंहले २१औं सताब्दिमा पनि वोक्सिको आरोपमा महिलामाथि कुटपिट हुनु दुःखद र निन्दनीय भएको भन्दै आरोपीलाई तत्काल पक्राउ गरी कारवाही गर्न सम्वन्धित निकायसँग माग गरेका छन् ।

विशेष