पर्यटन

पर्यटकीयस्थल ज्यामरुककोट ओझेलमा

पर्यटकीयस्थल ज्यामरुककोट ओझेलमा


असार ५ । पाँच सय ७४ वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावनाले युक्त ऐतिहासिक र पुरातात्विकस्थल सरकारी उपेक्षा र स्थानीयको उदासीनताका कारण ओझेलमा परेको छ ।

सदरमुकाम बेनीबजारदेखि करिब चार किलोमिटरको दूरीमा रहेको ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावना रहेका छन् । ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ«ेलगायत १५ वटाभन्दा बढी हिमशृङ्खलाको दृश्यावलोकन, धौलागिरि र गण्डकी क्षेत्रका ३० वटाभन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण सौन्दर्य र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ ।

ज्यामरुककोटको इतिहास १५ औँ शताब्दीको विरासतसँग जोडिएको छ । १५औँ शताब्दीको प्रारम्भसँगै थापाले राज्य गर्नथाले पछि अस्तित्वमा आएको ज्यामरुककोटमा रहेको (खड्गभवानी कोत)का दुर्लभ हातहतियार र अभिलेखको यसको ऐतिहासिक महत्वलाई स्पष्टसँग बुझाएका छन् ।

ज्यामरुककोटमा विसं १२४६ देखि १५४५ सम्म थापाले राज्य गरेका र विसं १५४५ को भदौ महिनामा थापाको पुख्यौली थलो मानिएको ताकम डिम्वमल्लले कब्जा गरेपछि ज्यामरुककोट, पुलाचौर, कुहु र राखुका थापाराजाले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको इतिहासमा उल्लेख भएको बेनी नगरपालिका–२ ज्यामरुककोटका नवनिर्वाचित वडाअध्यक्ष हीराबहादुर थापाले बताए ।

स्थानीय निकाय लामो समयसम्म जनप्रतिनिधिविहीन रहेकाले सम्भावना हुँदाहुँदै पनि विकास हुन नसकेको बताउँदै बेनी नगरपालिका–२ ज्यामरुककोटका नवनिर्वा्चित वडा अध्यक्ष थापाले आफ्नो पहिलो प्राथमिकता यस क्षेत्रका पर्यटकीयस्थलको विकास गर्ने रहेको बताए ।

करिब पाँच रोपनी क्षेत्रफलमा रहेको सो स्थानमा थापा र मल्ल राजाको ताम्रपत्रमा अङ्कित इतिहास, तोप, खुँडा, तरबारलगायतका हातहतियार, प्राचीन शिला र इट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अहिले अस्तव्यस्त अवस्थामा रहेका छन् ।

कोटडाँडोसम्म मोटर बाटोको सुविधा हुने र त्यहाँ एउटा भ्यू टावर निर्माण गरेर त्यस क्षेत्रको पर्यटकीय र प्राकृतिक सौन्दर्यको बारेमा प्रचारप्रसार गर्नसक्ने हो भने अन्नपूर्ण र धौलागिरि क्षेत्रको भ्रमणका लागि बेनी आएका २५ प्रतिशत पर्यटक त्यहाँ पुग्न सक्ने स्थानीय बुद्धिजीवी एवम् खड्ग भवानी कोत संरक्षण एवम् गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले जानकारी दिए ।

 

विशेष