समाज अपराध सुरक्षा

नेपाली अपहरण गर्न आएको भारतीय डिएसपीसहितको टोली पक्राउ

नेपाली अपहरण गर्न आएको भारतीय डिएसपीसहितको टोली पक्राउ

जेठ १९ । विना इजाजत नेपाल प्रवेश गरी एक नेपालीलाई अपहरण शैलीमा लाँदै गर्दा भारतीय प्रहरीका डिएसपीसहितको टोली पक्राउ परेको छ ।

दिपायल–सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर आउजीलाई घरबाटै बन्धक बनाएर लैजाने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय प्रहरीका डिएसपी नागराजसहित ७ जना छन् ।

ती मध्ये दुई नेपाली छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएको छ । बन्धक बनाइएका आउजी पनि प्रहरी नियन्त्रणमै छन् । भारतीय प्रहरी र तिनका सहयोगीलाई विशेष सुरक्षासहित प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको कार्यकक्षमा राखिएको स्रोतले बतायो । एसपी विष्टले भने उल्टै घटनाबारे अनविज्ञता प्रकट गरे ।

भारतमा मजदूरी गर्दै आएका लडागडाकै प्रसाद कार्कीलाई उतैबाट समातेर लालबहादुर आउजीको घर देखाउन राति करिब २ बजे ल्याएका थिए । प्रसादले मध्यरातमा ढोका खोल्न भनेपछि लालबहादुरकी श्रीमतीले ढोका खोलेकी थिइन् । एक्कासी भारतीय प्रहरी घरभित्र पसेर कुटपीट गर्नुका साथ जबरजस्ती गाडीमा बन्धक बनाएर लगेका थिए ।

कामको शिलशिलामा भारत बस्ने लालबहादुर ४ महिनाअघि फर्किएका हुन्। नेपाल प्रहरीसँग समन्वय नगरी उताको प्रहरी आई उनलाई अपहरणको शैलीमा रातारात लैजान चाहनुको कारण खुल्न सकेको छैन ।

कान्तिपुर

विशेष