अर्थ

महानगरपालिकाले दियो साझालाई पुनः पाँच करोड, साझाका थप १३ बस गुड्ने

महानगरपालिकाले दियो साझालाई पुनः पाँच करोड, साझाका थप १३ बस गुड्ने

काठमाडौँ, १३ असार । काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः रु पाँच करोड उपलब्ध गराएको छ ।स्मार्ट सिटी अभियानअन्तर्गत सार्वजनिक यातायातलाई सुधार गर्ने क्रममा सो संस्थाको सेवा विस्तारका लागि महानगरपालिकाबाट सो रकम प्रदान गरेको होे ।

मंगलबार आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले साझाका अध्यक्ष कनकमणि दीक्षितलाई पाँच करोडको चेक हस्तान्तरण गरे ।सो रकमबाट साझाले १२ बटा डिलक्स र एउटा सामान्यखालको बस सञ्चालनमा ल्याउने भएको छ । कामनपाको सहयोगमा थप बससहित जम्मा ४३ वटा बस गुड्नेछन् ।

महानगर प्रमुख शाक्यले सार्वजनिक यातायातका क्षेत्रमा थप फड्को मार्न र उपत्यकामा गुड्ने साना गाडीलाई विस्थापित गर्न सहयोग गरेको जानकारी दिए । महानगरलाई समृद्ध र जीवन्त सहर निर्माणका लागि आफ्नोतर्फबाट कुनै पनि कसर बाँकी नराख्ने पनि उनले जानकारी दिए । कामनपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले अन्य निजी क्षेत्रका सार्वजनिक यातायातले पनि साझाले जस्तै सेवा दिन आवश्यक रहेको बताए।

अब सञ्चालन हुने बसबाट ज्येष्ठ नागरिक, गरिब परिचयपत्र बोकेका नागरिक, अपाङ्ग र पाँच वर्षमुनिका बालबालिकालले समेत निःशुल्क सेवा पाउने छन् । मंगलबार हस्तान्तरण गरिएको रकमसहित कामनपाले साझालाई १५ करोड उपलब्ध गराइकेको छ । साझाले ३६५ दिन नै नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।

विशेष