अपराध सुरक्षा

भोट हाल्न २४ घण्टा पनि बाँकी नरहँदा झापामा बम आतंक

भेटिए जति बम निष्कृय पारिए, राख्ने समूह अज्ञात

भोट हाल्न २४ घण्टा पनि बाँकी नरहँदा झापामा बम आतंक

असार १३ । झापाको बिर्तामोडमा फेला परेको २ वटा बम निष्कृय पारेको केही घण्टामै झापाका अन्य स्थानमा पनि बम भेटिएको छन । मतदानको समय नजिकिएसँगै झापामा बम भेटिन थालेको हो ।
सोमबार दिउँसो चारआलीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले बिर्तामोडको बम निष्कृय पारेको थियो । त्यसलगत्तै पूर्व–पश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा बम फेला परेको हो । त्यसलाई सुरक्षित स्थानबमा सारेर निष्कृय पारिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी केशवकुमार थेबेले जानकारी दिए ।
त्यसपछि पूर्व–पश्चिम राजमार्गकै लक्ष्मीपुरस्थित घाग्रा पुलमा पनि बम फेला परेको प्रहरीले जनाएको छ । ‘बच्चाले फुटबल खेल्दै लगेका वेला अरुले बम छ भन्ने थाहा पाएछन,’ डीएसपी थेबेले भने, ‘दहीको बट्टामा कालो टेप लगाएर तार जोडेर राखिएको रहेछ ।’
नेपाली सेनाको बम डिस्पोजल टोलीले साँझ ६ः३० बजे बम निस्क्रिय पारेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । बम निष्कृय पारुञ्जेल राजमार्गमा सवारी आवागमन ठप्प पारिएको थियो । अहिले भने यातायात सुचारु भएको प्रहरीले जनाएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा एकपछि अर्को गर्दै बम भेटिन थालेपछि झापाका सर्वसाधारण त्रसित भएका छन् । झापामा कसले बम राखिरहेको छ भन्ने अझै खुल्न सकेको छैन ।

विशेष