पर्यटन

पर्यटन मन्त्रालयको सहयोगमा पदमार्ग निर्माण सुरु

पर्यटन मन्त्रालयको सहयोगमा पदमार्ग निर्माण सुरु

जेठ २० । फलेवास नगरपालिका–१ कार्कीनेटाको रातामाटादेखि कार्कीनेटा बजारसम्मको पदमार्ग निर्माण सुरु भएको छ । धौलागिरि अञ्चलको पुरानो प्रवेशद्वारका रुपमा रहेको कार्कीनेटामा आन्तरिक तथा बाह्य पर्यटकलाई हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले पदमार्ग निर्माण गर्न लागिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु १० लाखको सहयोगमा निर्माण हुन लागेको पदमार्गको शुक्रबार फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले शिलान्यास गर्दै स्थानीय अवसर र सम्भावनाको पहिचान गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

विसं २०४८ मा धौलागिरि क्षेत्रमा सडक सुविधा आएपछि उक्त स्थान ओझेलमा परेको थियो । त्यसअघि पर्वत, बागलुङ र म्याग्दीका बासिन्दाले पोखरा, बुटबल, स्याङ्जा र काठमाडाैंलगायत स्थानमा जानका लागि सोही पदमार्गको प्रयोग गर्दै आएका थिए ।

सोही पदमार्ग हुँदै पैदल वा खच्चरमार्फत सामान आयात हुने गरेको स्थानीयवासीको भनाइ छ । झन्डै दुई किमी लामो उक्त पदमार्ग निर्माणपछि यस क्षेत्रमा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकका साथै स्थानीयवासीलाई हिँडडुलका लागि सहज हुने भएको छ । आगामी एक वर्ष्भित्र उक्त पदमार्ग बनाउने लक्ष्य लिइएको छ ।

padmarga

विशेष