यी मानिस यस्ता हुन्, जसलाई कानुनले छुँदैन
जेठ–२० । ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरी सर्वोच्च अदालतबाट दुई वर्ष कैद सुनाइएका दोषी हुन् । वैशाख १७ मा भ्रष्ट प्रमाणित गर्दै अदालतबाट भएको फैसला कार्यान्वयनमा आएको भए उनीहरुको एक महिना कैद कटिसक्थ्यो । तर, उनीहरु जेलमा हैन, अझै स्वतन्त्र छन् ।
सुडानमा शान्ति स्थापनार्थ खटिएका आफ्नो संगठनका सदस्यको बन्दोबस्तीको सामान खरिदमा भ्रष्टाचार गरेको प्रमाणित गर्दै सर्वोच्च अदालतले उनीहरुलाई एक महिनाअगाडि दोषी प्रमाणित गरेको थियाे। यी फरार हुन् भन्नेबारे प्रहरी निकाय जानकार छ तर पक्राउ गर्न चासो दिएको छैन ।
यी तीन ’फरार’ पक्राउ नपर्नुको कारण हो उनीहरुको ’हाइप्रोफाइल’ पृष्ठभूमि। यी तीनै जना नेपाल प्रहरीका पूर्व महानिरीक्षक हुन्। उनीहरुको त्यही पृष्ठभूमिकै कारण काठमाडौं उपत्यकाभित्रैको आफ्नै घरमा हुँदा समेत समातिएर जेल पुगेका छैनन् ।
प्रशासनिक पहुँचको भरमा लागूऔषध मुद्दामा १९ वर्षदेखि उन्मुक्ति पाउँदै आएको अर्को रोचक घटनासमेत भेटिएको छ । मुद्दा हो २०५५ को अनि व्यक्ति हुन् मशकुर अहमद लारी । १९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेसको मुद्दामा उनी तानिएपछि २०६८ मा काठमाडौं जिल्ला अदालतले पक्राउ आदेश जारी गरेको थियो। तर, उनी हालसम्म पक्राउ परेका छैनन्। पक्राउ नपर्नुको कारण हो उनको पहुँच। उनी बानेश्वरमा रहेको एभरेस्ट होटलका सञ्चालक हुन्। प्रभावको आधारमा उनले मुद्दा नै तामेलीमा पठाएका थिए। २०६८ माघ २२ मा जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता विदुर कार्कीले कारबाही अगाडि बढाउन निवेदन दिएपछि मुद्दा ब्युँतियो।
२०६८ माघ २७ मा अदालतले लारीको नाममा ७० दिनको म्याद जारी गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंको नाममा एक साताभित्र पक्राउ गरी अदालतमा बुझाउन वारेन्ट पठाएको थियो। वारेन्ट पठाएको ६ वर्ष लागिसक्यो, उनी काठमाडौंमै छन् तर पक्राउ पर्दैनन्।
–नागरिक दैनिकबाट