दबाब अभियानका अगुवाहरु भन्छन्, ‘घन्टी बजेको पनि पैसा लिन्छ एनसेलले, बाँकी बक्यौता बुझाओस्’
जेठ–२२ । एनसेलले आइतबार बुझाएको पूँजीगत लाभकर बमोजिमको १३ अर्ब ६० करोड ४७ लाख ९१ हजार ७ सय ११ रुपैयाँ कर बुझाएपछि उसले आफ्नो दायित्व समाप्त भएको दावी गरेको छ । आइतबारको तिरो पछि एनसेलले पुँजीगत लाभकर शीर्षकमा कुल २३ अर्ब ५७ करोड ४३ लाख ६२ हजार जम्मा गरेको छ ।
नेपालको प्रशासनयन्त्र यति निकम्मा छ कि उसले अहिलेसम्म एनसेलले पुँजीगत लाभकर बापत कति तिर्नुपर्छ भनेर भन्न सकेको छैन । तर एनसेलले पुँजीगत लाभकर बापतको सबै रकम चुक्ता भएको दावी गरेको छ ।
आयकर ऐनमा पुँजीगत लाभकर २५ प्रतिशत तिर्नुपर्ने उल्लेख छ । अहिलेसम्म एनसेलले १५ प्रतिशत तिरेको छ । बाँकी १० प्रतिशत तिर्नुपर्छ भन्ने आवाज पनि उठेको छ । पुँजीगत लाभकर तिर्न आनाकानी गरिरहेको एनसेलविरुद्ध नागरिक समाजका अगुवाहरु, मानवअधिकारकर्मी, उपभोक्ता अधिकारकर्मीहरु प्रदर्शनमा पनि उत्रिएका थिए ।
उनीहरुले एनसेल–सरकार दुवैलाइ कर लिन दिन दबाब दिँदै आएका थिए । नागरिक अधिकार अभियान नामक एक समूहले काठमाडौंको भद्रकाली, ललितपुरको पाटन दरबार क्षेत्रमा दबाबमुलक कार्यक्रम पनि गरेको थियो । सो कार्यक्रममा मानवअधिकाकर्मी सुवोधराज प्याकुरेल, उपभोक्ता अधिकारकर्मी ज्योति बानिया, नेता निर्मल भट्टराई, मिस नेपाल सुविन लिम्बु, अभियानका सदस्य हरिराम रिमाललगायतले एनसेललाई कर बुझाउन दबाब दिए ।
सामान्यतः सरकारले असुल्ने कर समयमा नबुझाउँदा ब्याज लिने चलन छ । सामान्य करदाताले समयमा कर नबुझाउँदा ब्याज बुझाउनु पर्छ । तर ३५ अर्ब रुपैयाँ पुँजीगत लाभकरको ब्याज त के साँवा नै फुत्किने अवस्था सिर्जना भएपछि जागरुक नागरिकहरु आन्दोलित भएका थिए ।
एनसेलको हठविरुद्ध सिम जलाउने कार्यक्रम पनि आयोजना गरिएको थियो । त्यस्तो दबाब अभियानका सदस्यहरुले अहिले पनि एनसेलले कर बुझाउ बाँकी रहेको दावी गरिरहेका छन् ।
सुवोधराज प्याकुरेलः एनसेलले अलिकति कर आइतबार जम्मा गरेको खबर सुनेँ । दुई दिन अघि चूडामणि शर्मा पक्राउ पर्नु, भोलिपल्टै एनसेलले कर तिर्नुमा सम्बन्ध छ भन्ने लाग्छ । स्याल कराउनु र बाख्रा हराउनु जस्तै भएको छ । यो प्रकरणमा म त कम्पनी रजिष्ट्रार कार्यालय पनि दोषी देख्छु । कर नतिरी कसरी एउटा कम्पनीको सेयर अर्को कम्पनीमा गयो ? यो मामिलामा दोषी देखिने सबैलाई पाता कस्नु पर्छ । पुँजीगत आयकर भनेको २५ प्रतिशत हो । अहिले एनसेलले १५ प्रतिशत तिरेको छ । बाँकी पैसा पनि तिर्नुपर्छ भन्ने मेरो मान्यता हो । नेपाल टेलिकमले कुरा हुन थालेदेखिको पैसा लिन्छ । यो एनसेल भन्ने लुटेरा कम्पनीले त घन्टी गएको पनि पैशा काट्छ । यसकारण यसले कर तिर्न बाँकी छ । तिर्नुपर्छ ।
ज्योति बानियाँ, उपभोक्ताअधिकारकर्मीः एनसेलले कर तिर्नुपर्छ भनेर हामीले दबाब पनि दियौं । हालै एनसेलले कर तिरेको पनि देखियो । अझै केही रकम तिर्न बाँकी छ । त्यो पनि तिर्नु पर्छ । यो प्रकरणभित्र धेरै रहस्यहरु पनि छन् भन्ने मलाई लाग्छ । यो विषय क्रमश खोतलिँदै जाला ।
निर्मल भट्टराई, नेता (नेकपा एमाले)ः एनसेललाई करबाट उन्मुक्ति दिन राजनीतिक नेतृत्व, कर्मचारीतन्त्रले खेल खेलेकै हो । यी सबैको सेटिङमा एनसेललाई कर नतिराउने र त्यसबाट जोगिने पैसा आपसमा बाँडेर खाने योजना थियो । अहिले पनि १५ प्रतिशत रकममात्रै एनसेलले बुझाएको छ । १० प्रतिशतले रकम तिरेको छैन । जनता जागे भने बिग हाउसहरुले कर छली गर्न सक्दैनन् भन्ने नजीर यसबाट स्थापित भएको छ ।
सुविन लिम्बु, पूर्वमिस नेपालः एनसेलले कर तिरेको खबर मैले पनि सुनेँ । तर कानुनमा २५ प्रतिशत भन्ने उल्लेख भएको तर उसले अहिलेसम्म १५ प्रतिशत मात्रै तिरको पनि थाहा पाएँ । मेरो बिचारमा कानुन अनुशार चल्नु पर्छ । कानुन र विधिमा सबै चल्यो भने मात्रै यो देश राम्रो हुन्छ । ‘देशमा सिस्टम नै छैन’ भनेर मात्रै हुदैन । सिस्टम बसाउन त तपाई हामी सबैले देशको नियम पालना गर्नु पर्छ नी हैन र ?
हरिराम रिमालः राजश्व बिभागका महानिर्देशक चूडामणि शर्मा अख्तियारको पञ्जामा परे लगतै एनसेलले पुँजीगत लाभकर बापत तिर्नुपर्ने २५ प्रतिशत करमा १५ प्रतिशत मात्र बुझाएर १० प्रतिशत कर तिर्नुनपर्ने जिकिर गरिरहेको छ । यस्को अर्थ यस्तो पनि लाग्न सक्छ के १० प्रतिशत रकम चाहीँ एनसेलले ३३ अर्ब नतिर्ने योजनामा खर्च गरिसकेको त छैन ? तपाईं हामीलाई थाहा छ केही पूर्वअर्थमन्त्रीहरु कानुनी रुपमै एनसेलले कर बुझाउनु नपर्ने जिकिर सार्बजनिक रुपमै गर्दै थिए । अझै डा साबहरुले ट्विट गरिसकेका छैनन ।