अर्थ बैंकिङ

विद्युत् वितरण प्रणाली सुधारका लागि एडिबीको १५ अर्ब ऋण दिने

विद्युत् वितरण प्रणाली सुधारका लागि एडिबीको १५ अर्ब ऋण दिने

 

असार - १६ । एसियाली विकास बैंक(एडिबी)ले काठमाडौँ उपत्यकाको विद्युतीय क्षमता विस्तार एवम् सुधारका लागि रु १५ अर्ब ऋण सहयोग उपलब्ध गराउने भएको छ । 

बैंकको सञ्चालक समितिले बिहीबार सो ऋण सहयोग उपलब्ध गराउनेसम्बन्धी निर्णय गरेको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्रभावकारी एवम् दिगो ऊर्जा उपलब्ध गराउने नेपाल सरकारको लक्ष्यअनुसार विद्युत् वितरण प्रणालीलाई प्रभावकारी बनाउने कार्यमा बैंकले सहयोग गरेको विज्ञप्तिमा उल्लेख छ । 

काठमाडौँ उपत्यकाको विशेष गरी नेपाल विद्युत् प्राधिकरणको महाराजगन्ज तथा रत्नपार्क वितरण केन्द्रअन्तर्गत विद्युतीय संरचना भूमिगत गर्ने कार्यका लागि सो रकम खर्च हुनेछ । 

प्राधिकरणले नमुना परियोजनाका रुपमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रको सम्पूर्ण प्रणाली भूमिगत गर्ने कार्य अगाडि बढाएको छ । सहरी सौन्दर्य बढाउने लक्ष्यका साथ पहिलो चरणमा ती दुई स्थानबाट विद्युत्का तार भूमिगत गर्न लागिएको प्राधिकरणले जनाएको छ । 

दिगो विकास लक्ष्यको महत्वपूर्ण कार्यसूचीका रुपमा रहेको सबैका लागि दिगो ऊर्जा कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्यका साथ बैंकले महत्वपूर्ण सहयोग उपलब्ध गराएको बैंकका ऊर्जा जानकार जीवन आचार्यले बताए । 

आगामी केही वर्षभित्र महत्वपूर्ण जलविद्युत् आयोजनाको निर्माण सम्पन्न हुने भएकाले पनि प्रसारण लाइनको विकास र विस्तार महत्वपूर्ण हुने देखिएको छ । विद्यमान प्रसारण प्रणालीको सुधार गर्दै काठमाडौँ उपत्यकामा थप विद्युत् आयातका लागि मार्ग प्रसस्त गर्न, प्रसारण लाइनको क्षमता विस्तार एवम् विकास गर्दै वितरण प्रणाली गर्नु जरुरी भइसकेको छ । 

सो परियोजनाले वितरण प्रणालीमा रहेको भोल्टेजको समस्या समाधान गर्दै प्राविधिक एवम् व्यावसायिक चुहावटलाई नियन्त्रण गर्नसमेत सहयोग पुग्ने बैंकको विश्वास छ । 

प्रसारण प्रणालीको क्षमता विस्तार एवम् वितरण प्रणालीको सुधारले प्राधिकरणको वितरण केन्द्रको कार्य सञ्चालन एवम् व्यावसायिक दक्षताको अभिवृद्धिका लागि समेत सहयोग पुग्नेछ । 

यस्तै प्राधिकरणले सञ्चालनमा ल्याउन लागेको स्मार्ट ग्रीड तथा अत्याधुनिक वितरण प्रणालीले व्यावसायिक दक्षताको समेत विकास गर्ने विश्वास लिइएको छ । 

विशेष