अपराध सुरक्षा

लागुऔषध कारोबार गर्ने गिरोहका तीन सदस्य पक्राउ

लागुऔषध कारोबार गर्ने गिरोहका तीन सदस्य पक्राउ

असार २६ । भारतबाट नेपालतर्फ हुने प्रतिबन्धित लागुऔषधको तस्करीमा संलग्न गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरी आज(साेमबार) सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकारसम्मेलनको आयोजना गरी लागुऔषध कारोबार गर्ने गिरोहमा संलग्न रहेका एक भारतीयसहित तीन जनालाई सार्वजनिक गरेको हो ।

पत्रकारसम्मेलनमा लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका भारत रक्सौल निवासी मुकेशकुमार साह, वीरगञ्ज नगरवासी नरबहादुर केसी र उनकी श्रीमती माया केसीलाई सार्वजनिक गरेको हो ।

अञ्चल प्रहरी कार्यालय नारायणीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सूर्यप्रसाद उपाध्यायले पक्राउ परेका तीनै जना अभियुक्त रक्सौलबाट खरिद गरिएको प्रतिबन्धित लागुऔषध टिटिजेसिक रात्रि बसबाट काठमाडाैँ पुर्याउने धन्दामा संलग्न रहँदैआएको अनुसन्धानबाट खुलेको बताए ।

त्यस्ता लागुऔषध भारतीय नागरिक मुकेशले वीरगञ्ज नाकासम्म पुर्याउने र नाकाबाट मायाले रात्रि बसका चालकहरुको सहयोगमा काठमाडाैँसम्म पुर्याउने गरेको उनले जानकारी दिए ।

भारतीय नागरिक मुकेश यही असार २२ गते ३४० थान टिटिजेसिकसहित पक्राउ परेपछि उनले दिएको जानकारीका आधारमा पहिले माया केसी र पछि नरबहादुर केसीलाई नियन्त्रणमा लिइएको हो । कारोबारमा संलग्न रहेका अर्का अभियुक्त कृष्ण बहादुर प्याकुरेल सवारी ज्यान मुद्दामा यही चितवनको खैरेनीबाट पक्राउ परी जिप्रका चितवनको हिरासतमा रहेको वरिष्ठ उपरीक्षक उपाध्यायले जानकारी दिए ।

सवारी ज्यान मुद्दा टुङ्गो लाग्नेबित्तिकै अभियुक्त प्याकुरेललाई पर्सा झिकाई लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।

यसैबीच, असार २२ गते वीरगञ्ज महानगरपालिका–५ मा डेरा गरी बस्ने अंशु यादवको कोठाबाट रु एक लाख ६६ हजारभन्दा बढी मूल्यको धनमाल चोरी गरेको अभियोगमा प्रहरीले स्थानीयवासी मुन्ना महतोलाई पक्राउ गरेको छ । यादवको कोठाबाट चोरी गरिएको ल्यापटप, बहुमूल्य साडी, ल्यापटपको एक्सटर्नल हार्डडिक्स, पानी तान्ने मोटर, मोबाइलफोन लगायतका सामान महतोको घरबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

विशेष