अर्थ रोजगार

कृषकलाई ३२ करोड अनुदान वितरण

कृषकलाई ३२ करोड अनुदान वितरण

 

असार - २९ । व्यावसायिक कृषि तथा व्यापार आयोजनाले पूर्वाञ्चलमा कृषकलाई तेइस करोडभन्दा बढी अनुदान रकम वितरण गरेको छ ।

विश्व बैंकको रु १७ करोड ७३ लाख र सरकारको पाँच करोड ८१ लाख अनुदान वितरण गरिएको आयोजना कार्यान्वयन सहयोग समूहले जनाएको छ । पूर्वाञ्चलका पहाडी जिल्ला सोलुखम्बु, ओखलढुंगा, खोटाङ, संखुवासभा, इलाम, भोजपुरमा चालु आवमा लघु अनुदान तथा मझौला कार्यक्रममार्फत उक्त अनुदान रकम उपलब्ध गराइएको हो ।

प्रतिस्पर्धात्मक पूरक अनुदानको व्यवस्थाबाट कृषक समूह, सहकारी संस्था र कृषि व्यवसायीलाई कृषि व्यवसायीकरणको क्षेत्रमा मापनयोग्य नतिजा २–३ वर्षभित्रै हासिल गर्न सक्षम तुल्याउने उद्देश्यले सन् २०१३ देखि सन् २०१८ सम्मका लागि उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

पूर्वाञ्चल क्षेत्रीय कृषि कार्यालयका निर्देशक हस्तबहादुर विष्टले मुलुकका सबै जिल्लामा कार्यक्रम सञ्चालन गरिएको बताए । उनले कार्यक्रमको माध्यमबाट किसानको जीवनस्तरमा सुधार भएको देखेरै विश्व बैंकले अनुदानको दायरा बढाएको बताए ।

आयोजना कार्यान्वयन समूहका प्रमुख भानुभक्त मैनालीले किसानले गरेको सम्झौताअनुरुप आधा काम सम्पन्न गरेपछि मात्र पहिलो किस्ता दिने गरिएको बताए । उनले छनोटमा परेका जिल्लाका किसान वा सहकारीले खासगरी कृषि कार्यक्रमअन्तर्गत तरकारीखेती, माछापालन, डेरी, बङ्गुरपालन र कुखुरापालनका लागि अनुदान रकम प्राप्त गरेको बताए । यस क्षेत्रमा व्यावसायिक कृषि तथा व्यापार आयोजनामार्फत १५ वटा संयुक्त आयोजना र ४२ वटा उपआयोजना सञ्चालनमा छन् । 

विशेष