‘सिंघम एसएसपी’ रमेश खरेलमाथि बढुवामा गरियो यस्तो घात
साउन १ । सरकारले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्दा एक नम्बरका एसएसपी रमेशप्रसाद खरेललाई पहिलो वरीयतामा बढुवा सिफारिस नगरी दोस्रो नम्बरका एसएसपी सर्वेन्द्र खनाललाई सिफारिस गरेकाले अहिलेदेखि नै भावी महानिरीक्षक (आईजीपी) का लागि गम्भीर चलखेल हुन थालेको देखिएको छ । भावी आईजीपीको दाबेदार मानिएका खरेल पहिलो वरीयतामा बढुवा सिफारिसमा नपरेकाले आईजीपी बन्ने उनको सपना सपना मात्रै त हुने होइन भन्ने प्रश्न पनि खडा हुन थालेको छ ।
गृह मन्त्रालय मातहतको सुरक्षा निकाय नेपाल प्रहरीमा अपवादबाहेक वरिष्ठताका आधारमा पहिलो वरीयताकालाई आईजीपी बनाउने चलन छ । सशस्त्र प्रहरीमा त स्थापनाको १६ वर्षसम्म पनि पहिलो वरीयताका अतिरिक्त महानिरीक्षक (एआईजी) लाई मात्रै आईजीपी बनाइएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबै संगठनमा बीचमा कुनै ऐन/नियमावली परिवर्तन नभएको अवस्थामा आगामी २८ चैतमा नयाँ आईजीपी नियुक्ति हुनेछ । सशस्त्र प्रहरीमा एआईजीबाटै आईजीपी हुनेछ । तर नेपाल प्रहरीमा एआईजीबाट आईजीपी हुने सम्भावना छैन । हालका आईजीपी प्रकाश अर्यालसँगै अब एआईजीका लागि सिफारिसमा परेका सबै ११ जना एआईजी ३० बर्से सेवा हदका कारण २८ चैतमा नै अनिवार्य अवकाशमा जाने भएकाले अहिलेको (प्रकाश अर्याल) जस्तै डीआईजीबाटै आईजीपी बनाउनु पर्ने बाध्यता छ ।
यस्तो स्थितिमा भावी आईजीपीका प्रमुख दाबेदारका रुपमा खनाल अघि देखिएका छन् । उनीपछि मात्रै खरेल छन् । त्यसो त आईजीपी बनाउँदा कार्यसम्पादनलाई प्रमुख रुपमा लिने गरिन्छ । तर, वरिष्ठताको नम्बर पनि हुन्छ । खनाललाई आईजीपी हुनबाट रोक्न उनले कार्यसम्पादनमा खनाललाई निकै पछि पारे केही सहज अवस्था पनि छ । खनाल र खरेल मात्रै होइन, पुष्कर कार्की र उत्तमकुमार कार्की पनि आईजीपीको दाबेदारी गर्न आइपुगेका छन् ।
बढुवा समितिका अनुसार खनालले कुल १०० पूर्णांकमा ८४ दशमलव ४७३४ अंक पाउँदा खरेलले ८३ दशमलव ८५१० अंक प्राप्त गरेका छन् । तेस्रोमा पुष्कर कार्कीले ७८ दशमलव २३११ अंक प्राप्त गर्दा चौथोमा ७८ दशमलव १८५६ अंकसहित उत्तमकुमार कार्की बढुवा सिफारिसमा परेका छन् । यो सिफारिस अनुसार नौ महिनापछि हुने आईजीपीका लागि गृह मन्त्रालयले चार जनालाई प्रतिस्पर्धीको रुपमा अगाडि सारेको देखिन्छ । २०४५ सालमा भर्ना भएको रमेश खरेल एसएसपीमा बढुवा हँुदा पहिलो नम्बरमा थिए । तर डीआईजी सिफारिसमा उनले पहिलो नम्बरलाई निरन्तरता दिन सकेनन् । २०४६ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका सर्वेन्द्र खनालले उनलाई उछिने ।
९ महिनापछि खरेल आईजीपी भएको अवस्थामा उनले १० महिना प्रहरी संगठनको नेतृत्व गर्नेछन् । तर, खनाल आईजीपी भए उनले झण्डै दुई वर्ष प्रहरी संगठनको नेतृत्व गर्नेछन् । यहाँ रोचक कुरा के छ भने ९ महिनापछि खरेल आईजीपी भए पनि खनालको आईजीपी यात्रामा पूर्णविराम लाग्दैन । खरेल पछि आईजीपी बन्न पनि उनलाई ढोका खुल्लै हुन्छ । फरक कम समय आईजीपी बन्ने मात्रै हो ।
खनाल र खरेल दुबै प्रहरी संगठनमा लोकप्रिय छन् । दुबै काबिल अधिकृतका रुपमा चिनिन्छन् । सांगठनिक कामका आधारमा दुबै जनाले प्रहरी संगठन र जनताको मन जित्न सफल भएका छन् । दुबै जना प्रहरी संगठनको मुहार फेर्ने हैसियत पनि राख्छन् ।
खनाल र खरेलबीच फरक के छ भने खनाल सहजै जनतासँग भिज्न सक्छन् भने खरेल सक्दैनन् । खनाल मिलेर जानुपर्छ भन्ने मान्यता राख्छन् । खरेल भने हक्की र निडर स्वभावका छन् ।
हक्की र निडर स्वभावकै कारण खरेल बेला बेलामा विवादमा आइरहन्छन् ।
खरेल अहिले शान्ति मिसनअन्तर्गत सुडानमा छन् । खनालले त्यसैको फाइदा लिए भन्नेहरु पनि कम छैनन् । त्यसो त नेपाल आजले खरेल शान्ति मिसनमा सुडान जानुअघि एक वर्षअघि विविध विषयमा लामो कुराकाकी गरेको थियो । नेपाल आजसँगको कुराकानीमा उनले त्यतिबेला आफूलाई प्रहरी प्रमुख हुन नदिन गम्भीर षडयन्त्र भइरहेको र आफू सबै चलखेललाई परास्त गर्दै आईजीपी भइछाड्ने बताएका थिए । भ्रष्टहरुले आईजीपी बन्ने सपना देख्न पनि नहुंने भन्दै उनले आफ्नो सिपाही हुँदादेखिको इतिहास हेर्न पनि चुनौति दिएका थिए ।
हक्की स्वभावका उनलाई दोस्रो वरीयतामा झारिनुलाई उनले पक्कै नै गम्भीर रुपमा लिएको हुनुपर्छ नै, त्यससँगै भावी आईजीपी बन्न उनले आगामी दिनमा के कस्तो भूमिका खेल्छन्, आगामी दिनले प्रष्ट पार्ने छ ।
त्यसो त उनले अन्तर्वार्ताकै क्रममा प्रहरी संगठनमा अहिले पनि घुसखोरी रहेको, आफूलाई हत्या गर्ने धम्कीसमेत आएको खुलासासमेत गरेका थिए । विदेशबाट नेपालीले विदेशकै मोबाइल नम्बर प्रयोग गरी मार्ने धम्की दिएको उनले प्रष्ट पारेका थिए । धम्की दिने व्यक्तिको पहिचान भइसकेको र कानूनी कठघरामा उभ्याइछाड्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
निडर स्वभावका खरेलले वामदेव गौतम गृहमन्त्री हुँदा डीआईजी बढुवाका लागि ब्रिफकेस बोकेर हिड्ने गरिएको सार्वजनिक अभिव्यक्तिसमेत दिएका थिए । उनको सो भनाइले प्रहरीवृत्तमा हंगामा मच्चाएको थियो ।
र याे पनि,
► एसएसपी रमेश खरेललाई ज्यानमार्ने धम्की (भिडियोसहित)