अपराध सुरक्षा

सशस्त्रको कप्र शाखामा कुँवरको सरुवा हल्ला मात्र, डीएसपी गिरीको सम्भावना प्रबल

सशस्त्रको कप्र शाखामा कुँवरको सरुवा हल्ला मात्र, डीएसपी गिरीको सम्भावना प्रबल


साउन २। सशस्त्र प्रहरी नायव उपरीक्षक दीपेन्द्र कुँवरले आफैले आफू सशस्त्र प्रहरी बल प्रधान कार्यालय कर्मचारी प्रशासन (कप्र) शाखामा सरुवा भएर आएको हल्ला गरेको खुलासा भएको छ । कप्र शाखाको प्रमुखमा डीएसपी होम ज्ञवाली नै रहेको प्रष्ट पार्दै सशस्त्र मुख्यालयले कुँवर आएको हल्ला निराधार रहेको जनाएको छ ।

हाल सीमा सुरक्षा गुल्म रसुवाको गुल्मपति रहेका कुँवर सशस्त्रको कर्मचारी प्रशासन हेर्ने शाखामा सरुवा हुन अति नै जोडबल गरिरहेका छन् । आफू प्रधानमन्त्री शेरबहादुर देउवाको भतिजी ज्वाईं भएको भन्दै उनले आफ्नो प्रभाव जमाउन आफैले कप्र शाखामा आएको हल्ला फैलाएको स्रोतको दाबी छ । कुँवर प्रधानमन्त्री देउवाको आफ्नै भतिजी ज्वाईं नभएर सहयोगी भानु देउवाका आफन्त हुन् ।

सिसं २ का डीएसपी कुँवरले आफू प्रधानमन्त्री देउवाको भतिजी ज्वाईं भएको भन्दै सशस्त्रका उच्चपदस्थ अधिकारीलाई पनि नटेर्ने गरेको सशस्त्र मुख्यालयमा चर्चा छ । त्यसो त सशस्त्रमा उनले आफ्नो हैकम राम्रैसँग जमाउन सकेका छन् ।

कञ्चनपुरको गड्डाचौकीस्थित भन्सार गुल्ममा एक वर्ष कमाण्ड गरेका विवादास्पद छबीका कुँवरकै कारण गतवर्ष सशस्त्रको डीएसपी सरुवामा चर्काे विवाद भएको थियो । उनले आफू जसरी पनि सीमा सुरक्षा गुल्म रसुवाको गुल्मपति हुनुपर्ने भन्ने अडान नछाडेपछि तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई उनको अगाडि निरीह बनेका थिए । कुँवरले अडान नछाडेपछि डीएसपी सरुवामा ढिलाइसमेत भएको थियो ।

सशस्त्रमा कर्मचारी प्रशासन शाखालाई अत्यन्तै सम्वेदनशील शाखा मानिन्छ । कर्मचारी प्रशासनसम्बन्धी सबै काम यही शाखाले गर्छ । यो शाखाको डीएसपीले आईजीपीको दाहिने हात भएर काम गर्नुपर्ने हुन्छ । यो शाखाको प्रमुख बन्न आईजीपीको विश्वासपात्र हुनैपर्छ ।

स्रोतका अनुसार, विवादास्पद छबीका कुँवरले आर्थिक फाइदा हुने देखेर सो शाखामा आउन चाहेका हुन् । आर्थिक फाइदा हुने देखेर नै उनले गतवर्ष रसुवा जान जोड गरेका थिए । रसुवाको गुल्मपति भएपनि उनले काठमाडौंमै बसेर गुल्म चलाएको सशस्त्र मुख्यालयमा चर्चा छ ।

स्रोतका अनुसार, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ उनलाई कुनै पनि हालतमा कप्रको डीएसपी बनाउने पक्षमा छैनन् । प्रशासन विभागका एआईजी पुष्पराम केसी पनि उनलाई कर्मचारी प्रशासनमा ल्याउन नदिने पक्षमा छन् । कप्रको डीएसपी भइसकेको हल्ला पिटाएर उनले संगठनकै बेइज्जत गरेको निष्कर्षमा आईजीपी श्रेष्ठ पुगेका छन् ।

स्रोतका अनुसार, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल भने कुँवरलाई कप्र शाखामा ल्याउनुपर्ने पक्षमा छन् । यसका लागि उनले शक्तिकेन्द्र पनि धाइरहेका छन् । कुँवरलाई कप्र शाखामा ल्याउन सके आईजीपीबाट हुने गोप्य भन्दा गोप्य कुरा आफूलाई थाहा हुने र सोही अनुसार अगाडि बढ्न सकिने भन्दै खनाल कुँवरको पक्षमा देखिएका हुन् । त्यसो त गतवर्ष कुँवरलाई रसुवा पठाउन पनि खनालको ठूलो हात थियो । कुँवरलाई कप्र शाखामा ल्याउन सके प्रधानमन्त्री देउवाका सहयोगीहरुको मन जित्न सकिने खनालको भित्री उद्धेश्यसमेत देखिन्छ । एआईजी खनालको यस्तो उद्धेश्यबारे जानकारी पाएपछि आईजीपी श्रेष्ठ कुँवरलाई कुनै पनि हालतमा नल्याउने पक्षमा पुगेका हुन् ।

कप्र शाखाका हालका डीएसपी ज्ञवाली झण्डै सातवर्षदेखि त्यहाँ कार्यरत छन् । उनी पूर्व आईजीपीहरु शैलेन्द्र श्रेष्ठ, कोषराज वन्त र दुर्जकुमार राईको समेत मन जित्न सफल भएका थिए ।

डीएसपी ज्ञवाली अब लेखा उपसमुह गठन भएपछि त्यहाँ जाने प्रबल सम्भावना छ । उनको सरुवापछि रिक्त हुने सो पदमा सिसं ३ का दर्शन गिरीको नाम पनि चर्चामा छ । हाल सीमा सरक्षा कार्यालय भैरहवामा कार्यरत गिरी त्यसअघि सीमा सुरक्षा गुल्म रसुवामा थिए । रसुवामा गुल्मपति हुँदा अत्यन्तै राम्रो काम गरेको भन्दै उनलाई सरुवापछि बिदाइका बेला रसुवाबासीले भव्य कार्यक्रम आयोजना गरी २० किलोको माला लगाउँदै बिदाइ गरेका थिए ।

 

 

विशेष