अपराध सुरक्षा

एसपीमा बढुवा सिफारिस भएको तेस्रो दिनमै निलम्बन सिफारिस

एसपीमा बढुवा सिफारिस भएको तेस्रो दिनमै निलम्बन सिफारिस

४ साउन । प्रहरी उपरीक्षक (एसपी) बढुवा सिफारिसमा परेका विवादास्पद नायव उपरीक्षक (डीएसपी) सन्जिव शर्मा दासलाई निलम्बन गरिने भएको छ । पाँच वर्षअघि रामेछापको साबिक सैपू गाविस १, सिरेसमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्या प्रकरणका मुख्य अभियुक्त श्याम राउतलाई उन्मुक्ति दिई भगाएको आरोप खेप्दै आएका डीएसपी शर्मालाई एसपी बढुवा सिफारिसमा भएको गल्ती सच्याउँदै निलम्बन गरिन लागिएको हो । मध्य क्षेत्रीय प्रहरी कार्यालयले कारवाहीको सिफारिस गरेका शर्मालाई बढुवा समितिले एसपीमा बढुवा सिफारिस गरेपछि चर्काे विरोध भइरहेको छ ।

कारबाही भोग्नुपर्ने डीएसपी शर्मालाई सरकारले पुरस्कार स्वरुप एसपीमा बढुवा सिफारिस गरेको भन्दै सञ्चार माध्यमले चर्काे आलोचना गरेपछि गृहमन्त्री जनार्दन शर्माले यसबारे चासो दिएका हुन् । उनले डीएसपी शर्मालाई एसपीमा सिफारिस त्रुटिपूर्ण भन्दै तत्काल निलम्बन गरी अनुसन्धान अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री शर्माले बुधबार फेसबुकबाटै डीएसपी शर्मालाई निलम्बन गर्न निर्देशन दिएको जनाएका छन् । शर्माले भनेका छन्, ‘सञ्चार माध्यमले डीएसपी सन्जिव शर्मा दासबारे उठाउनु भएको प्रश्नले बढुवा गर्दा भएको त्रुटिपूर्ण निर्णय सच्याउन मद्दत पुग्यो । सबैमा हार्दिक धन्यवाद । सन्जिव शर्माबारे थप अनुसन्धान गर्ने गरी निलम्बन गर्न निर्देशन दिएको जानकारी गराउँछु ।’

विशेष