अपराध सुरक्षा

शिक्षक हत्यारा अझै पत्ता लागेन, सिआइबीले छानबिन गर्ने

शिक्षक हत्यारा अझै पत्ता लागेन, सिआइबीले छानबिन गर्ने

साउन ४ । झण्डै एक महिना बेपत्ता रहेपछि मृत भेटिएका कुश्मा–१ पाङका शिक्षक नारायण पौडेलको मृत्युको विषय रहस्यमय बन्दै गएको छ ।

पौडेलको मृत्युको वास्तविक कारण खुल्न सकेको छैन । गएको जेठ २५ गतेदेखि बेपत्ता २० वर्षीय पौडेलको शव असार ७ गते बागलुङको जैमिनी नगरपालिका बेलबगरस्थित कालीगण्डकी किनारमा भेटिएको थियो । बेवारिसे अवस्थामा भेटिएको शव शिक्षक पौडेलको भएको पुष्टि डिएनए परीक्षण र शव परीक्षण रिपोर्टबाट भएको थियो ।

शिक्षक पौडेलको मृत्यु घाँटीमा लागेको चोटका कारण भएको शव परीक्षणबाट आएपछि उनको हत्या भएको हुनसक्ने भन्दै परिवार र आफन्तले अपराधी तत्काल पत्ता लगाउन प्रहरीलाई दबाब दिँदै आएका छन् ।

घटना घटेको लामो समय भइसक्दा पनि सत्यतथ्य बाहिर नआएको भन्दै पर्वतका विभिन्न शिक्षक संगठनले पनि संयुक्त विज्ञप्ति निकालेर तत्काल अनुसन्धानलाई तीव्रता दिन प्रहरीलाई दबाब दिएका छन् ।

प्रहरीले शिक्षक पौडेलले पढाउँदै आएको आइबल एकेडेमीका प्रधानाध्यापक विमल पौडेल, अभिभावक देउकुमार श्रेष्ठ र चन्द्रमान प्रधानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यद्यपि घटनासम्बन्धी त्यस्तो कुनै तथ्य पत्ता लगाउन नसकेको पर्वतका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए । “अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै लगिएको छ, पौडेलको मृत्यु के कारणले भएको हो ? भन्ने विषयमा अनुसन्धान अगाडि बढिरहेको छ,” प्रहरी नायब उपरीक्षक खनालले भन्नुभयो, “हामीले उहाँले प्रयोग गरेको मोबाइलको कल डिटेल, एसएमएस र सामाजिक सञ्जालमा गरिएका कुराकानीको अध्ययन गरिरहेका छौँ ।”
लामो समयसम्म पनि रहस्य खुल्न नसकेपछि प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको सहयोग लिने भएको छ । अहिले मिसिलको अध्ययनमा रहेको सिआइबी मिसिल अध्ययन गरिसकेपछि पर्वत आउने डिएसपी खनालले जानकारी दिए ।

शिक्षक पौडेलको मृत्युको कारण रहस्यमय देखिएकाले सिआइबीको मद्दत लिनुपरेको उनकोे भनाइ छ । मृतक शिक्षक पौडेल कुश्मा नगरपालिकाअन्तर्गत कटुवाचौपारीमा रहेको आइबल एकेडेमीमा पढाउँदै आएका थिए ।

विशेष