अपराध सुरक्षा

रोकिएन मध्यक्षेत्रका डीआईजीको रकम असुली धन्दा, मातहतका इञ्जार्जलाई कारबाहीको धम्की दिँदै रकम असुल्दै

रोकिएन मध्यक्षेत्रका डीआईजीको रकम असुली धन्दा, मातहतका इञ्जार्जलाई कारबाहीको धम्की दिँदै रकम असुल्दै


साउन ५ । मध्यक्षेत्र सशस्त्र प्रहरी प्रमुख नायव महानिरीक्षक (डीआईजी) नरेन्द्र सिंहलाई सशस्त्र मुख्यालय तान्न सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सिंहबहादुर श्रेष्ठले कुनै चासो नदेखाएपछि उनको चर्काे आलोचना हुन थालेको छ । पदीय आचरणविपरीत उद्योगी व्यवसायी र मातहत निकायसँग पटक पटक रकम माग गरेको भन्दै डीआईजी सिंहमाथि हदैसम्मको कारबाहीको मागसहित उजुरी परेपनि ‘नाम मात्रै’ को कारबाही गरेको भन्दै आईजीपी श्रेष्ठको विभागभित्रै चर्काे आलोचना हुन थालेको हो । डीआईजी सिंहलाई कारबाही नगरेर आईजीपी श्रेष्ठ शक्तिकेन्द्रको अगाडि लम्पसार परेको सशस्त्र मुख्यालयमा चर्चा चल्न थालेको छ ।

डीआईजी सिंहको कार्यशैलीले सशस्त्र प्रहरी बलकै बेइज्जत भइरहेको भन्दै उच्चपदस्थ अधिकारीले उनीमाथि हदैसम्मको कारबाहीको माग गरेकोमा सचेत मात्र गराएर उनलाई उन्मुक्ति दिन खोजेको सशस्त्रका उच्च अधिकारीहरुको बुझाइ छ । डीआईजी सिंहले उद्योगी व्यवसायी र मातहतका निकायसँग रकम माग गरेको उजुरी परेपछि सशस्त्र मुख्यालयले तीन सदस्यीय छानबिन टोलीसमेत गठन गरेको थियो । सशस्त्र मुख्यालयले टोलीलाई ‘फिल्ड’ मै खटाएर डीआईजी सिंह र पीडितसँग वयानसमेत लिएको थियो । छानबिन समितिले डीआईजी सिंहले प्रशस्त मात्रामा आर्थिक अनियमितता गरेको प्रतिवेदन दिएपनि उनलाई सचेत मात्रै गराइएको हो ।

स्रोतका अनुसार डीआईजी सिंहले आगामी दिनमा गल्ती नदोहो¥याउने बताएपछि उनलाई सचेत मात्रको कारबाही गरिएको हो । सशस्त्र प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) राजु अर्यालले आर्थिक अनियमितताको अभियोगमा डीआईजी सिंहलाई सचेत गराइएको पुष्टि गरे । ‘डीआईजी सिंहमाथि आर्थिक अनियमितताको अभियोग लागेपछि उनीमाथि मुख्यालयले छानबिन थालेको थियो, छानबिनपछि उनलाई सचेत गराइएको हो,’ प्रवक्ता अर्यालले भने ।

स्रोतका अनुसार, डीआईजी सिंहले मध्यक्षेत्रका उद्योगी व्यवसायीलाई टेलिफोन नै गरेर र भेटेर रकम असुल्दै आएका छन् । यसका लागि उनले घुमुवासमेत परिचालन गर्दै आएका छन् । उनले सशस्त्र मुख्यालयसहित माथिसम्मै मिलाउनु पर्ने भन्दै रकम माग गर्ने गरेको स्रोतले बतायो ।

पछिल्ला दिनमा उनले यो कार्यलाई झनै तीब्रता दिएका छन् । मातहतका गण, गुल्म र बीओपोका प्रमुखको सरुवा यही महिनाभित्रै हुने भएकाले उनले यथाशक्य चाँडो रकम बुझाउन ताकेता गर्न थालेका छन् । उनको यस्तो गैरजिम्मेवारीपूर्ण व्यवहारले मातहतका कमाण्डर अत्यन्तै रुष्ट भएका छन् । उनको गलत आचरणलाई लिएर आईजीपी श्रेष्ठसम्मै कुरा पुगे पनि आईजीपी श्रेष्ठ मौन बसेकाले डीआईजी सिंहले मातहतका इञ्चार्जहरुलाई उल्टै थर्काउन थालेका छन् । उनले आफूलाई कारबाही गर्न संगठन र सरकारले पनि नसक्ने जिकिर गर्दै आगामी दिनमा आफ्नो विरोध गरे कारबाही गर्ने धम्कीसमेत दिन थालेका छन् । स्रोतका अनुसार, डीआईजी सिंहबाट पीडित नहुनेमा उनीमातहतका कमै मात्र इञ्चार्ज छन् ।

डीआईजी सिंहले भने आफूमाथि लागेको आरोपमा कुनै सत्यता नभएको दाबी गरे । ‘हो, सशस्त्र हेडक्वाटरले ममाथि छानबिन गरेको थियोे,उजुरी परेपछि छानबिन थाल्नु सामान्य कुरा हो,’ डीआईजी सिंहले भने । उनले आफूले कुनै पनि उद्योगी व्यवसायी र मातहत निकायसँग रकम नलिएको दाबी गर्दै समाचार नलेख्न पटक पटक आग्रह गरे । ‘बरु हामी भेटेरै कुरा गरौं, समाचार चाहिँ नलेखिदिनु होला,’ उनले भने ।

नेपाल प्रहरीमा जवानमा छिरेका सिंह सशस्त्र प्रहरी बलमा डीएसपीमा स्थानान्तरण भएका थिए । हालका चार जना एआईजीहरु शैलेन्द्र खनाल, पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेल प्रहरी निरीक्षक हुँदा उनी हवल्दार थिए । उनी पूर्वसशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईसँगै फुटबलसमेत खेल्थे । डीआईजी सिंह मध्यक्षेत्र जानुभन्दा अघि पश्चिम क्षेत्र पोखराको बाहिनीपति थिए । त्यहाँ पनि उनको आर्थिक अनियमितताका कुरा बाहिर आएका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक र श्रेष्ठले आफू आईजीपी भएको केही दिनमै डीआईजीको सरुवा गरी उनलाई पश्चिम क्षेत्रबाट मध्यक्षेत्रको बाहिनीपति बनाएका थिए । त्यसबेला आईजीपी श्रेष्ठले डीआईजी सरुवामा कुनै अडान लिन नसकेको, बाहिनीपति भइरहेका व्यक्तिलाई फेरी बाहिनीपति बनाएको भन्दै उनको चर्काे आलोचना भएको थियो । डीआईजी सरुवाका बेला शक्तिकेन्द्रप्रति आत्मसमर्पण गरेकोलगायतका आरोप उनीमाथि लागेका थिए ।

डीआईजी सरुवाप्रति असन्तुष्ट एक जना पूर्वआईजीपीले सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले डीआईजी सरुवामा भ्रष्ट अधिकारीलाई प्राथमिकता दिएको भनेर असन्तुष्टि समेत जनाएका थिए । त्यसबेला ती पूर्वआईजीपी भनेका थिए, ‘डीआईजी सरुवामा शक्तिकेन्द्रको दबाब त आउँछ नै, त्यसमा अडान लिनसक्नु पर्छ, आईजीपी श्रेष्ठले शक्तिकेन्द्रप्रति आत्मसमर्पण नै गरे ।’

 

विशेष