अपराध सुरक्षा

प्रहरी बढुवा सिफारिसमा गृहसचिव र आईजीपीको झेल पर्दाफास, अन्यायमा परेकालाई न्याय दिन दरबन्दी थपिँदै

प्रहरी बढुवा सिफारिसमा गृहसचिव र आईजीपीको झेल पर्दाफास, अन्यायमा परेकालाई न्याय दिन दरबन्दी थपिँदै

साउन ६ । प्रहरीको उच्चपदस्थ अधिकृतको बढुवा सिफारिसमा गृहसचिव लोकदर्शन रेग्मी र प्रहरी महानिरीक्षक प्रकाश अर्यालले ‘मनपरी’ गर्दा योग्य र काबिल अधिकृत छुटेपछि सरकारले उनीहरुको व्यवस्थापनका लागि केही दरबन्दी थप्ने तयारी सुरु गरेको छ । गृहमन्त्री जनार्दन शर्मालाई ‘बाइपास’ गर्दै गृहसचिव रेग्मी र प्रहरी महानिरीक्षक अर्यालले आफू निकटका अधिकृतहरुलाई मात्र बढुवा सिफारिस गरेको भन्दै चर्काे आलोचना हुन थालेपछि सरकारले दरबन्दी थप्ने तयारी गरेको हो । यसरी दरबन्दी थप्दा अन्यायमा परेका केही अधिकृतले राहत भने पाउने छन् ।

स्रोतका अनुसार गृहसचिव र आईजीपीको मिलेमतोमा योग्य अधिकृतमाथि अन्याय गरिएको गुनासो गृहमन्त्री जनार्दन शर्मासमक्ष पुगेपछि दरबन्दी थप्ने तयारी भएको हो । स्रोतका अनुसार, एआईजी र डीआईजीको दुई–दुई, एसएपीको चार र एसपीको आठ दरबन्दी थप्ने तयारी भइरहेको छ । सरकारले दुई साताअघि मात्रै एआईजीको दरबन्दी तीनबाट बढाएर ११ पु-याएको थियो । अब दरबन्दी थप्दा एआईजीको १३ हुनेछ ।

यसअघि एआईजीको सिफारिस गरिँदा वरीयताको सात नम्बरमा रहेका मधुप्रसाद पुडासैनी, १२ नम्बरका पंकज श्रेष्ठ र १५ नम्बरका हेमन्त पाल परेका थिएनन् । अब दुई दरबन्दी थप्दा यी तीनमध्ये दुई जना एआईजीमा बढुवा हुनेछन् ।

कार्यसम्पादन मूल्यांकनमा अब्बल हुँदाहुँदै पटकपटकका बढुवामा समकक्षीहरुको षड्यन्त्रले पीडित बनेका डीआईजी पाल र वरीयता र कार्यसम्पादन दुवैमा अगाडि रहँदारहँदै पनि राजनीतिक दौडधूपमा नलागेका कारण छुटाइएका डीआईजी पुडासैनीमाथि अन्याय भएको भन्दै संगठनभित्र चर्को असन्तुष्टि देखिएको थियो । बढुवा सिफारिस प्रक्रिया अघि बढ्दा डीआईजी पुडासैनी विभागीय तालिमका सिलसिलामा अमेरिका थिए । जसका कारण उनको तर्फबाट बोलिदिने कोही नभएर उनी छुटे । पाललाई रोक्न भने एआईजी सिफारिसमा परेका जयबहादुर चन्द र देवेन्द्र सुवेदी नै सक्रिय तरिकाले लागेका थिए । पालले भुकम्पका बेला अहोरात्र खटिएर व्यवस्थापन गरेका थिए ।

पद थपेर डीआईजी पाल, पुडासैनी र श्रेष्ठमध्ये दुई जनालाई एआईजीमा बढुवा गर्ने गरी दरबन्दी थपको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी छ । महानगरीय प्रहरी कार्यालयको अवधारणाअनुसार पोखरा र विराटनगरमा महानगरीय प्रहरी कार्यालय स्थापना गरेर दुई एआईजीलाई ती दुई कार्यालयको कमाण्ड दिने सरकारको तयारी छ ।

त्यस्तै, एसएसपीबाट डीआईजी बढुवामा कार्यसम्पादनमा अब्बल रहेका दीपककुमार थापा, महेशविक्रम शाह, दिनेश अमात्य, केदार रिजाल, कमलबहादुर जिटी, शेरबहादुर बस्नेत र पिताम्बर अधिकारीमध्येबाट पर्नेछन् ।

यस्तै, एसपीबाट एसएसपीमा आठ दरबन्दी थप्दा चिरञ्जीवी देवकोटा, सहकुल थापा, दिलीप बस्नेत, विभूतिराज पाण्डे, अरुण बीसी, राजेन्द्र चौधरी, प्रकाश अधिकारी, शरद खत्री, मुकुन्द आचार्य, पूजा सिंह, वीरेन्द्र बस्याल, सुशील यादव, राजेन्द्र ढकाललगायतका अधिकृत छन् । गृह मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै गृहमन्त्री शर्माले वैदेशिक रोजगारीको सिलसिलामा धेरै नेपाली गएको मुलुकको नेपाली राजदूतावासमा प्रहरी सहचारी खटाउने योजना सार्वजनिक गरेका थिए । त्यसबमोजिम साउदी अरेबिया, कतार, दुबई र मलेसियामा प्रहरी सहचारी खटाउने तयारी गरेको स्रोतको दाबी छ ।

एसपीबाट एसएसपीमा बढुवा भएमा २०५६ असार ३ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका मध्येबाट ८ जना डीएसपीले एसपीमा बढुवा हुने अवसर पाउनेछन् । उक्त ब्याचबाट नेपाल प्रहरीको भावी नेतृत्व चुनिने हुँदा बढुवामा अगाडि आउन एक अर्काबीच चर्को प्रतिस्पर्धा देखिन्छ । सो ब्याचबाट चर्चित डीएसपीहरु गंगा पन्त, सोमेन्द्रसिंह राठौर, आभूषण तिम्सिना, शेखर खनाल, दीपशमसेर राणा, रमेश बस्नेत, प्रवीण पोखरेल, ओम अधिकारीबीच भावी नेतृत्वको लागि चर्को प्रतिस्पर्धा हुने देखिन्छ । उनीहरुका अलावा रवीन्द्र रेग्मी, बसन्त रजौरे, दीपकराज खरेल, सविन प्रधान, भूपेन्द्र खत्री, तारादेवी थापा, भीम दाहाल, गोपालचन्द्र भट्टराई लगायतका अधिकृतहरु बढुवाको प्रतिस्पर्धामा छन् । उक्त ब्याचबाट कार्यसम्पादन तथा वरीयतामा गंगा पन्त अब्बल भएता पनि उनीलाई पछि पारेर वरीयताको ८ नम्बरमा रहेका भूपेन्द्र खत्रीलाई १ नम्बरमा बढुवा गराउन पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालको समूह सक्रिय छ । खत्रीलाई भविष्यमा आईजीपी बनाउनुपर्छ भन्दै आईजीपी प्रकाश अर्यालले समेत उनलाई काखी च्यापेको प्रहरी मुख्यालयमा चर्चा छ ।

 

विशेष