बधाई खाइ सकेका एआईजी, डिआइजी र एसएसपीको रोकियो बढुवा, कारण यस्तो छ
साउन ८ । नेपाल प्रहरीको उच्चपदस्थ अधिकृतको बढुवा सिफारिसमा अन्याय भएको भन्दै पुनरावलोकन समितिमा उजुरी परेको छ । तीन उच्च अधिकृतले पुनरावलोकन समितिमा उजुरी दिएसँगै एआईजी, डीआईजी र एसएसपीको बढुवा प्रक्रिया रोकिएको छ ।
जुनियरलाई बढुवा गरेर सिनियरलाई अन्यायमा पारिएको भन्दै डीआईजी मधुप्रसाद पुडासैनी, एसएसपी सुवासचन्द्र चौधरी र एसपी विभूतिराज पाण्डेले पुनरावलोकन समितिमा उजुरी दिएका हुन् । तहगतरुपमा एसपीदेखि डीआईजीसम्मले पुनरावलोकन समितिमा उजुरी दिएकाले बढुवा प्रक्रिया रोकिएको हो ।
डीआईजी पुडासैनीले एआइजी बढुवामा आफूभन्दा कनिष्ठलाई पारेर आफूमाथि अन्याय भएको गुनासो गरेका छन् । डीआईजी सिफारिसमा आफूभन्दा दोस्रो ब्याचका शशीविक्रम शाहलाई पारिएको भन्दै सुवासचन्द्र चौधरीले उजुरी गरेका छन् ।
गृहमन्त्री जनार्दन शर्माले बढुवामा केही अधिकृतलाई अन्याय भए पनि नियतवश नगरिएको भन्दै प्रष्टीकरण दिँदादिँदै पनि पुनरावलोकन समितिमा उजुरी परेकाले धेरै बढुवा सिफारिसप्रति धेरैले असन्तुष्टि जनाएको देखिन्छ ।
लोकसेवा आयोगका प्रवक्ता लक्ष्मीविलाश कोइरालाले नेपाल प्रहरीको बढुवा सिफारिसमा अन्याय भएको भन्दै तीन उच्च अधिकृतले पुनरावलोकन समितिमा उजुरी दिएको पुष्टि गरे । उनले तीनजनाको उजुरी परेको प्रट पार्दै भने, ‘अब आयोगले बढुवा भएका र हुन नपाएका सबैको विवरण गृहमन्त्रालय मार्फत मागेर छानविन गर्नेछ । पुनरावलोकन गर्दा तलमाथि गरेको पाइएमा नाम फेरिन सक्छ ।’
पुनरावलोकन समितिको अध्यक्षमा लोकसेवा आयोगका अध्यक्ष रहन्छन् भने सदस्यमा मुख्य सचिव र कानुन सचिव रहने व्यवस्था छ । समितिले कार्य सम्पादन मूल्यांकन, वरिष्ठता र आचरण लगायत सबै पक्ष हेर्नेछ ।
डीआईजी बढुवामा सिनियर भएपनि मधु पुडासैनी, माधव नेपाल, पंकज श्रेष्ठ, गोविन्द निरौला, राधाकृष्ण देउजा सिफारिसमा परेका छैैनन् । तर, रणवहादुर चन्द र विजयकुमार भट्ट बढुवामा परेका छन् । चन्द र भट्ट दुबै जना प्रधानमन्त्री शेरवहादुर देउवाको गृहक्षेत्रका हुन् ।