कर्मचारी प्रशासनबाट बिदा भए डीएसपी ज्ञवाली, यस्ता छन् दाबेदार
साउन ८ । सशस्त्र प्रहरी बलको कर्मचारी प्रशासन (कप्र) शाखाका प्रमुख डीएसपी होम ज्ञवालीले आइतबार रवानापत्र बुझेका छन् । आठ वर्ष कप्र शाखामा बसेका डीएसपी ज्ञवाली आइतबारदेखि सुरक्षा महाशाखामा हाजिर भएका छन् ।
वार्षिकरुपमा हुने एकाउन्टेन्ट, बीओपीपति, गुल्मपति र गणपतिको सरुवाअगावै डीएसपी ज्ञवालीको सरुवा भएको हो । डीएसपी ज्ञवाली सशस्त्रको लेखा उपसमुह स्वीकृत भएपछि त्यसको कमान्ड गर्ने तरखरमा छन् ।
कप्र शाखाका डीएसपी ज्ञवालीको सरुवा भएपनि उनको ठाउँमा तत्कालका लागि कसैलाई पनि ल्याइएको छैन । सो शाखामा कोही नआउन्जेल प्रशासन विभागका एसएसपी अभि खत्रीलाई समन्वयकारी भूमिका खेल्ने जिम्मेवारी दिइएको स्रोतले बतायो ।
कप्र शाखामा आउन सिसं २ का गुल्मपतिहरु दीपेन्द्र कुँवर र भूपेन्द्र केसी तथा सिसं ३ का डीएसपी दर्शन गिरीले शक्तिकेन्द्रको प्रयोग गरिरहेका छन् । कुँवरले प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव भानु देउवा, केसीले अर्थमन्त्री कृष्णबहादुर महरा र गिरीले माओवादी नेताहरु मार्फत अध्यक्ष पुष्पकमल दाहाललाई प्रयोग गरिरहेका छन् ।