अपराध सुरक्षा

कप्र शाखामा डीएसपी केसीलाई ल्याउन आईजीपी श्रेष्ठमाथि चर्काे दबाब, को हुन् केसी ?

कप्र शाखामा डीएसपी केसीलाई ल्याउन आईजीपी श्रेष्ठमाथि चर्काे दबाब, को हुन् केसी ?

साउन १२ । सशस्त्र प्रहरी बलको रिक्त रहेको कर्मचारी प्रशासन (कप्र) शाखाको प्रमुखमा सरुवा हुन एमटी शाखाका डीएसपी भूपेन्द्र केसीले चर्काे दबाब दिएका छन् । आफू उपराष्ट्रपति नन्दबहादुर पुन र अर्थमन्त्री कृष्णबहादुर महरा निकट भएको बताउँदै उनले सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई विभिन्न शक्तिकेन्द्रमार्फत दबाब दिइरहेका छन् । डीएसपी केसीको यस्तो व्यवहारले सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ उनीप्रति रुष्ट भएको स्रोतको दाबी छ ।

आर्थिक मामिलामा अहिलेसम्म कुनै दाग नलागेका र आफ्नो कार्यकालमा संगठनमा केही नयाँ काम गरौं भन्ने उद्धेश्य बोकेका सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ अहिले केसीले कर्मचारी प्रशासन शाखा नै ताक्नुको अर्थ भित्रैभित्रै खोजिरहेका छन् । डीएसपी केसीले अति नै दबाब दिन थालेपछि उनी केसीको भित्री उद्धेश्य पनि खोज्न थालेका छन् । यद्यपि, सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ शक्तिकेन्द्रको अगाडि भने कुनै अडान लिन सक्दैनन् । उनको कमजोरी नै यही हो । यही कमजोरीका कारण महानिरीक्षक श्रेष्ठले डीएसपी केसीलाई कर्मचारी प्रशासन शाखाको जिम्मेवारी दिए संगठनले ठूलो क्षति भोग्नु पर्नेमा सशस्त्रका अधिकारीहरु चिन्तित छन् ।

सशस्त्रमा कर्मचारी प्रशासन शाखालाई अत्यन्तै सम्वेदनशील शाखा मानिन्छ । कर्मचारी प्रशासनसम्बन्धी सबै काम यही शाखाले गर्छ । यो शाखाको डीएसपीले आईजीपीको दाहिने हात भएर काम गर्नुपर्ने हुन्छ । यो शाखाको प्रमुख बन्न आईजीपीको विश्वासपात्र हुनैपर्छ ।

तर पछिल्लो समय कप्र शाखा सरुवा र बढुवामा पैसा असुल्ने शाखाको रुपमा चिनिन थालिएको छ । यो शाखा अहिले अत्यन्तै बदनाम पनि भएको छ । यो शाखाको प्रमुखले सरुवा र बढुवामा ठूलै रकम असुल्छन् भन्ने सबैमा परेको छ । त्यसैले केसी राम्रो काम गर्ने भन्दा पैसा असुल्ने उद्धेश्यले नै कप्र शाखामा आउन जोडबल गरिरहेका हुन् ।

त्यसो त डीएसपी केसीको छबी सशस्त्र प्रहरीभित्र त्यति राम्रो छैन । दाङ घर भएका उनलाई सशस्त्र प्रहरीभित्र विवादित अधिकृतका रुपमा चिनिन्छ । सिंस २ का डीएसपी केसी अहिलेसम्म सबैभन्दा राम्रो ठाउँमा सरुवा पाउने व्यक्तिका रुपमा चिनिन्छन् ।

उनी स्टाफ कलेजका लागि पोटेन्सियल क्यान्डिडेट भएपनि उनले त्यहाँ फर्म नै भरेनन् । स्टाफ कलेज गर्दा झण्डै डेढ वर्ष पढ्नु पर्ने भएकाले उनले पढाइलाई भन्दा पैसालाई बढी महत्व दिएका हुन् । उनीमाथि एमटी शाखामा बसेर अकुत सम्पत्ति कमाएको आरोप लाग्दै आएको छ । यस्तै आर्माेरर शाखामा हुँदा पनि उनले धेरै रकम कमाएको स्रोतको दाबी छ । उनीमाथि दुर्जकुमार राई आईजीपी हुँदा फर्जी बिल बनाएर बाँडिचुँडी खाएको आरोप पनि छ ।

त्यसो त उनी शैलेन्द्रकुमार श्रेष्ठ आईजीपी हुँदा बाभघैरब गुल्मको गुल्मपति बन्न सफल भएका थिए । त्यसबेला शक्तिकेन्द्र प्रयोग गरी उनी डीएसपीहरुको पहिलो रोजाइको गुल्म मानिएको बाघभैरब गुल्मको गुल्मपति बन्न सफल भएका हुन् । त्यसो त उनले त्यसबेला सीसीएससी तालिम नै गरेका थिएनन् । सो तालिम नगरेका व्यक्तिलाई नियमले गुल्मपति बनाउन मिल्दैन । तर, तत्कालीन आईजीपी श्रेष्ठ शक्तिकेन्द्रको दबाबमा उनलाई बाघभैरब गुल्मको गुल्मपति बनाउन बाध्य भएका थिए । उनीमाथि कमान्डो तालिम पनि रोएरै गरेको आरोप पनि छ ।

आफूले कमान्ड गरेका एमटी र आर्माेरर शाखा तथा बाघभैरव गुल्ममा उनले कुनै राम्रो काम नगरेको सशस्त्रका अधिकारीहरुको बुझाइ छ । उनलाई संगठनभित्रकै महत्वपूर्ण शाखा कप्र शाखा दिए त्यसलाई थप बदनाम बनाउने उनीहरुको बुझाइ छ ।

सशस्त्रका एक डीएसपी असन्तुष्टि पोख्दै भन्छन्, ‘के सशस्त्र प्रहरी डीएसपी भूपेन्द्र केसी जस्ताको मात्रै बिर्ता हो ? जसले जे गर्दा पनि हुन्छ ? यस्तालाई कारबाही नगरेसम्म राम्रो मान्छे कहिले पाउँदैन सशस्त्रले ।

अर्का डीएसपी थप्छन् ‘आर्थिक मामिलामा अत्यन्तै स्वच्छ मानिएका आईजीपी सिंहबहादुर श्रेष्ठले यस्ता व्यक्तिलाई कप्र शाखा सुम्पिन्छन् त ? त्यो भने हेर्न बाँकी छ ।’

 

विशेष