अर्थ

निगमको बोइङ किन्न ५ कम्पनी र २ व्यक्तिको आवेदन, अमेरिकी कम्पनीसमेत इच्छुक

निगमको बोइङ किन्न ५ कम्पनी र २ व्यक्तिको आवेदन, अमेरिकी कम्पनीसमेत इच्छुक

साउन — १२ । नेपाल वायुसेवा निगमको जहाज लिलामीमा किन्नका लागि सातवटा कम्पनी तथा व्यक्तिले आवेदन दिएका छन् । निगमले कल साइत बी ७५७–२०० को बोइङ जहाज लिलामीमा बेच्न लागेको हो ।

निगमले बोल पत्र आह्वान गरेको अन्तिम मिति विहीबारसम्ममा दुईवटा विदेशी र बाँकी नेपाली कम्पनी तथा व्यक्तिले आवेदन दिएको निगमले जनाएको छ । आवेदन दिने विदेशी कम्पनीमा अमेरिकाको फ्लोरिडास्थित एभिएसन सिस्टम इकर्पाेरेसन र इजरायलको एपिएस एअरपार्ट्स सर्भिसेज एन्ड सप्लाइज रहेका छन् ।

त्यसै गरी आवेदन दिने नेपाली कम्पनीमा नेपालबाट हिमालय एभिएसन कन्सल्ट्यान्ट तिलगंगा, टिबीआइए गु्रप नेपाल गैह्रीधारा र बीबी एयरवेज नागपोखरी रहेका छन् भने काठमाडौं सानेपाका जनार्दनमान डंगोल, नयाँ बानेश्वर काठमाडौंका अनु मानन्धरले बिमान खरिदका लागि आवेदन दिएका छन् ।

नेपाल एयरलाइन्ससँग अहिले राष्ट्रिय ध्वजाबाहक दुईवटा बोइङमध्ये एउटा लिलामी गरेर बेच्न लागिएको हो । अर्काे बोइङ सिंगापुरको एसटी एरोस्पेस टेक्नोलोजीमा ‘हेभी’ मर्मतको लागि गएको छ । सन् १९८७ मा खरिद गरिएको यो विमानको मर्मत खर्च बढ्दै जाने र लागत अनुसारको नाफा पनि नहुने भएपछि निगमले बेच्ने निर्णय लिएको हो ।

विशेष