अपराध सुरक्षा

सशस्त्रमा एआईजी खनालको झेल, व्याचीहरुलाई नै एआईजी नबनाउने लविङमा लागेका थिए खनाल

सशस्त्रमा एआईजी खनालको झेल, व्याचीहरुलाई नै एआईजी नबनाउने लविङमा लागेका थिए खनाल

साउन १५ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेन्द्र खनाल गतवर्षको यही समयमा ६ एआईजीमध्ये पाँचौं नम्बरमा थिए । अहिले वरीयताका हिसावले उनी तेस्रो नम्बरका एआईजी हुन् । उनलाई भावी आईजीपीको दाबेदारसमेत मानिन्छ । तर, गतवर्षको यही समय सशस्त्र प्रहरीमा उनको जुनखालको रजगज थियो, व्यस्तता थियो, यो वर्ष भने उनी पूरै फुर्सद्मा छन् । 

अहिले उनकै व्याची अर्का एआईजी प्रशासन विभागका पुष्पराम केसीको संगठनभित्र दबदबा बढिरहेका बेला खनाल भने पूरै फुर्सदमा छन् । उनलाई भाउ दिने मान्छे सशस्त्र मुख्यालयमा भेट्न पनि गाह्रो छ ।

सशस्त्र प्रहरीमा तुरुन्तै लेखा शाखामा रहने सईदेखि एसपीसम्मको सरुवा हुँदै छ । सरुवाका कारण प्रशासन विभागका एआईजी केसीले राम्रोसँग सुत्न पनि पाएका छैनन् । राम्रो ठाउँमा सरुवा गरिदिनु प¥यो भन्नेको भीड नै लाग्छ । तर, खनाल भने यो वर्ष पूरै छायाँमा परेका छन् ।

दुर्जकुमार राई आईजीपी हुँदा सशस्त्रमा उनको एकछत्र राज थियो । सरुवा बढुवामा उनकै हैकम चल्थ्यो । प्रशासन विभागको एआईजी नभए पनि सचिवालयमा रहेका कारण उनको हाइहाइ थियो । तर, सिंहबहादुर श्रेष्ठ आईजीपी भएपछि उनले खनाललाई होइन, केसीलाई निकट ठाने र उनैलाई प्रशासन विभागको एआईजी बनाए । अहिले केसीलाई छायाँ आईजीपीको रुपमा सशस्त्र मुख्यालयमा हेर्ने गरिन्छ । तर, खनाल भने केसीको पनि छायाँमा परेका छन् ।

सशस्त्र प्रहरी बलमा खनाललाई अत्यन्तै धुर्त एआईजीका रुपमा चिन्ने गरिन्छ । आफ्नो फाइदाका लागि जे पनि गर्न पछि पर्दैनन् भन्ने आरोप उनीमाथि लाग्दै आएको छ । उनको कार्यशैलीलाई लिएर केसी मात्रै होइन, उनकै ब्याची एआईजीहरु नारायणबाबु थापा र रामशरण पौडेल पनि उनीसँग रुष्ट छन् । उनीमाथि केसी, थापा र पौडेललाई एआईजी बनाउनु हुन्न भनेर लविङ गर्दै हिडेको आरोप लाग्दै आएको छ । एआईजी बढुवा लामो समयसम्म रोकिनुको प्रमुख कारण खनाल नै भएको केसी, थापा र पौडेलको बुझाइ छ ।

त्यसो त एआईजी थापाले आईजीपी सिंहबहादुर श्रेष्ठसँग भेटेरै आफूहरुलाई एआईजी बन्न नदिन खनालले लविङ गरेको गुनासोसमेत गरेका थिए । आफ्नै व्याची एआईजीहरुले आरोप लगाउन थालेपछि खनालले पटक पटक आईजीपी श्रेष्ठलाई भेटेर प्रष्टीकरण दिन थालेका छन् । उनले थापा, केसी र पौडेललाई एआईजी बन्न नदिन आफूले कुनै रोल नखेलेको प्रष्टीकरण दिने गरेको सशस्त्र मुख्यालयमा चर्चा छ ।

सशस्त्रमा अहिले ३० बर्से हटाउन गम्भीर खेल भइरहेको छ । आईजीपीको कार्यकाल तीन वर्ष र एआईजीको कार्यकाल दुई वा तीन बनाउने गरी ड्राफ्टसमेत तयार भइसकेको छ । यदि यो ऐन पारित भएको अवस्थामा खनालको आईजीपी बन्ने सपना चकनाचुर हुने छ ।

यो ऐन बनाउने सिलसिलामा पनि खनाल एक्लो बनेका छन् भने केसी, थापा र पौडेल एकै ठाउँ उभिएका छन् । अहिलेकै ऐन अनुसार आईजीपी बनाइयो भने खनाल निर्विकल्प दाबेदार हुन् । तर प्रस्तावित ऐन पारित भएको अवस्थामा यी तीनै जना आईजीपीका दाबेदार भएकाले उनीहरु एकै ठाउँमा उभिएका हुन् ।

एसएसपीमा केसी पहिलो, थापा दोस्रो र खनाल तेस्रो वरीयतामा थिए । तर, डीआईजी हुँदा खनालले दुबैलाई उछिने । खनाल पहिलो वरीयतामा आउँदा केसी तेस्रो वरीयतामा हुत्तिए । खनाल कसरी पहिलो वरीयतामा आए भन्ने कुरा पनि अत्यन्तै रोचक छ । त्यसबेला शैलेन्द्रकुमार श्रेष्ठ आईजीपी थिए । खनाल भने उनको प्रवक्ता । सचिवालयमा उनको हैकम चल्थ्यो । आईजीपी श्रेष्ठलाई प्रभावमा पारेर उनले डीआईजी सिफारिसमा पहिलो नम्बरमा आफूलाई, थापालाई दोस्रो र केसीलाई तेस्रो नम्बरमा राखेर गृह मन्त्रालयमा सिफारिस पठाए । त्यसबेला प्रशासन विभागका एआईजी थिए कोषराज वन्त । खनालको यो चतु¥याईं एआईजी वन्तलाई पनि थाहा थिएन । जब उनले थाहा पाए, उनी रिसाएर पोखरातिर लागे । सिफारिसमा एआईजीको हस्ताक्षर अनिवार्य भएकाले उनलाई पुनः काठमाडौं बोलाइयो, उनले बाध्यतावश हस्ताक्षर पनि गरे ।

श्रेष्ठपछि वन्त आईजीपी बने । आफू आईजीपी भएपछि उनले डीआईजी सिफारिसप्रति असन्तुष्टि जनाउँदै सच्याउन खोजे । तर पहिला नै सिफारिस भइसकेकाले त्यो सम्भव भएन । वन्तकै कार्यकालमा उनीहरुको बढुवा भयो । वन्तको अन्तिम कार्यकालमा एआईजी जीवन थापाको कार्यकाल सकिदै थियो । उनको ठाउँमा वन्त केसीलाई एआईजी बनाउन चाहन्थे । तर, चतुर खेलाडी खनाल वन्तलाई निलम्बन गर्ने खेलमा लागेको वन्तले थाहै पाएनन् । उनी निलम्बनमा परेपछि दुर्जकुमार राई बने आईजीपी । राईको पालामा उनको एकछत्र राज थियो । त्यही बेला उनले रिक्त दुई एआईजी पदमा आफूभन्दा वरिष्ठ जीतबहादुर पुनलाई दोस्रो नम्बरमा धकेल्दै आफू एक नम्बरमा बढुवा हुन सफल भए । यसको प्रमुख उद्धेश्य थियो, आफूजतिको राम्रो मान्छे संगठनमा कोही पनि थिएनन् भन्ने देखाउनु । खनालकै कारण उत्तम खड्का डीआईजी पदबाट अवकाश पाउने अवस्थामा पुगे । उनलाई भावी आईजीपीको रुपमा समेत हेर्ने गरिएको थियो । यद्यपि, उनी सेवा हदका कारण लामो समय आईजीपी बन्ने थिएनन् ।

राई आईजीपी बन्दा संगठनको छबी अत्यन्तै गिर्न गयो । यसको जिम्मेवारी हर्ताकर्ताको हिसावले खनालले पनि लिनु पर्छ भन्ने जमात सशस्त्र प्रहरीमा धेरै नै छ । राईको पालामा संगठनको छबी ध्वस्त भएकाले कदाचित खनाल आईजीपी बने उनको पालामा सशस्त्रको छबी झन ध्वस्त हुने एकथरीको बुझाइ छ । खनालमाथि गतवर्षको सरुवामा रकम उठाएको आरोप पनि लाग्दै आएको छ । यद्यपि, यो वर्ष हुन लागेको सरुवामा रकमको चलखेल नभएको स्रोतको दाबी छ ।

 

खनाल ‘युज एन्ड थ्रो’ मा समेत माहिर छन् । त्यसैले सशस्त्रका अधिकृतहरु मात्रै होइनन्, सञ्चारकर्मीहरुसमेत उनीबाट टाढिन थालेका छन् ।  

विशेष