अपराध सुरक्षा

किन हकारे गृहमन्त्री शर्माले आईजीपी अर्याललाई ? निरीह बन्दै आईजीपी

किन हकारे गृहमन्त्री शर्माले आईजीपी अर्याललाई ? निरीह बन्दै आईजीपी

साउन १५ । प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालको कार्यशैलीको प्रहरी संगठनभित्रै चर्काे आलोचना हुन थालेको छ । उनीमाथि गृहमन्त्री जनार्दन शर्मासामु निरीह बनेको, राजनीतिक दबाब खेप्न नसकेको, बढुवा सिफारिसमा न्याय गर्न असफल, निलम्वन सिफारिसकालाई पुरस्कार, शक्तिकेन्द्र धाउनेलाई नै अवसर, पदीय मर्यादा कायम गर्न नसकेको, संगठन सुदृढीकरणमा अडान राख्न नसकेको जस्ता आरोप लाग्न थालेको छ । उनको कार्यशैलीलाई लिएर गृहमन्त्री शर्माले हकारेकोसमेत प्रहरी प्रधान कार्यालयमा चर्चा चलेको छ ।

विशेषगरी अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेका ट्राफिक प्रहरी प्रमुख मिङमार शेर्पालाई प्रहरी प्रधान कार्यालयमा काजमा तान्ने उनको निर्णय विवादमा परेको छ । प्रधान कार्यालयले एक साताअघि मात्रै लामालाई ‘कारबाहीस्वरुप’ प्रधान कार्यालयमा तानी उनको ठाउँमा डीआईजी सिफारिसमा परेका सचिवालयका एसएसपी सर्वेन्द्र खनाललाई पठाएको थियो ।

‘बढुवा सिफारिसमा परिसकेको अवस्थामा नियमित प्रक्रियामा सरुवा गर्न सकिन्थ्यो, यो विषयमा आईजीपीले गृहमन्त्रीलाई ‘कन्भिन्स’ गर्न सक्नु पथ्र्याे, तर त्यसो हुन सकेन, आईजीपी अर्याल गृहमन्त्रीका अगाडि ‘यस म्यान’ बन्दा संगठनको छबी गिर्दै गइरहेको छ, दबाब आयो भन्दैमा संगठन प्रमुखले गलत सन्देश दिने काम गर्नुहुँदैन,’ प्रधान कार्यालय एक डीआईजी भन्छन् ।

एआईजी सिफारिसमा परेका लामालाई गृहमन्त्री शर्माले बेइज्जतिपूर्ण तरिकाले काजमा तान्दा पनि आईजीपी अर्यालले चुँसम्म बोल्न नसकेको प्रहरी मुख्यालयमा चर्चा छ । गृहमन्त्री शर्माको अगाडि निरीह बन्दै जाने हो भने आईजीपी अर्यालको आगामी दिन ‘ल्याप्चे छाप’ मै सीमित हुने प्रहरी अधिकारीहरुको बुझाइ छ ।

हालका आईजीपी अर्याल गृहमन्त्रीका अगाडि निरीह बनिरहँदा प्रहरी अधिकृतहरु पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालको अडान झलझली सम्झन थालेका छन् । पूर्वआईजीपी उपेन्द्रकान्तलाई तत्कालीन गृहमन्त्रीहरु वामदेव गौतम र विमलेन्द्र निधिले दबाब नदिएका होइनन् । तर, उनले ती गृहमन्त्रीहरुको डटेर मुकाबिला गरेका थिए र आफ्नो अडानमा उनीहरुलाई सहमत गराउन सकेका थिए । एसएसपी रमेश खरेललाई नसिहत दिन तत्कालीन गृहमन्त्री गौतमले दिएको निर्देशनको समेत उनले अवज्ञा गरेका थिए । उनी राम्रा प्रहरी अधिकृतको वृत्तिविकासमा असर पर्ने खालको निर्णय नगरौं भन्दै खरेलको पक्षमा उभिएका थिए । यस्तै तत्कालीन गृहमन्त्री निधिले काठमाडौं परिसरमा छविलाल जोशीलाई ल्याउन दिएको दबाबलाई समेत उनले लामो समय झेलेका थिए । एसएसपी जोशीले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी बहन गर्न सक्दैनन् भन्ने उपेन्द्रकान्तको अडान थियो । तर, पछि गृहमन्त्री निधीले उनलाई एकलौटी ढंगले काठमाडौं परिसरमा ल्याउएका थिए । एसएसपी जोशीमाथि काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी राम्रोसँग बहन गर्न नसकेको आरोप लाग्दै आएको छ ।

उता, वर्तमान आईजीपी अर्यालले गरेको डीएसपीदेखि एआईजीसम्मको बढुवा सिफारिस पनि चर्काे विवादमा परेको छ । ब्याडमिन्टन खेल्दा लडेर अर्धचेत अवस्थामा रहेका एसएसपी राजेन्द्रमान श्रेष्ठलाई बढुवा सिफारिसमा नपारेकाले अहिले उनको चर्काे आलोचना भइरहेको छ । श्रेष्ठ एसएसपीमा तेस्रो नम्बरका अधिकृत हुन् । उनलाई रमेश खरेल, सर्वेन्द्र खनालसँगै भावी आईजीपीको दाबेदारका रुपमा पनि हेर्ने गरिएको थियो । तर बिरामी अवस्थामा रहेका श्रेष्ठलाई उनले रुवाउने काम गरे ।

‘आईजीपीले अर्यालले श्रेष्ठलाई सिफारिस नगरेर अत्यन्तै नराम्रो काम गर्नु भयो, उहाँले गृहमन्त्रीलाई कन्भिन्स गर्न सक्नु पथ्र्याे, एक तह सम्मानस्वरूप बढुवा दिँदा केही फरक पर्ने थिएन, अर्कोपटक बरु सोच्न सकिन्थ्यो,’ उनकै व्याचका एक डीआईजीले भने ।

डीएसपी सञ्जय शर्मा दासलाई एसपीमा सिफारिस गर्ने उनको निर्णय पनि विवादित बन्यो । यही केसमा हो, उनलाई गृहमन्त्री शर्माले हकारेको । मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट निलम्वनको सिफारिस गरिएका डीएसपी दासलाई बढुवा सिफारिस गर्ने निर्णयको चर्काे अलोचना भएपछि गृहमन्त्री शर्माले उनको बढुवा सिफारिस रोकेनन् मात्रै, निलम्बनगर्न सिफारिससमेत गरे ।

उता, आईजीपी अर्यालले समकक्षीसँग भने गृहमन्त्री शर्माको दबाब थग्नै नसक्ने गरी आएको बताउन थालेका छन् । आफूले राम्रो गर्न खोज्दाखोज्दै गृहमन्त्री शर्माले कामै गर्न नदिएको उनले बताउन थालेका छन् । प्रहरी अधिकृतले पनि नेता प्रयोग गरी आफूलाई अनावश्यक दबाब दिन नछाडेको गुनासो उनले गर्न थालेका छन् ।

विशेष