अर्थ

भूकम्पपीडितलाई १४७ घर हस्तान्तरण

भूकम्पपीडितलाई १४७ घर हस्तान्तरण

 

असार - १९ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा रहेको रयालेको फलामेमा ‘अर्थब्याग’ नामक संस्थाले बनाइदिएको १४७ घर भूकम्पपीडितलाई हस्तान्तरण गरिएको छ । तामाङ समुदायलाई लक्ष्य गरी संस्थाले बनाइदिएका घर सोमबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख डा गोविन्दराज पोख्रेलले प्राधिकरणले यस वर्ष नेपालभर करिब डेढ लाख घर बनाइसक्ने उद्देश्य राखेको बताए । “सरकारको ढुकुटीमा पैसाको कमी छैन तर पनि जनता आफैँ घर बनाउन लाग्नुपर्छ,” उनले भने– “जनताले आफ्नै परिश्रम प्रयोग गरे रु तीन लाखले घर बन्छ ।”

उनले पुनःनिर्माण प्राधिकरणको संलग्नतामा भूकम्पपीडितलाई लक्ष्य गरी तालिम सञ्चालन गरिएको पनि बताए। कार्यक्रममा अर्थब्याग संस्थाकी नेपाली प्रतिनिधि मेलो डिजीले आफ्ना कर्मचारीको अथक प्रयासबाट पुनःनिर्माण सम्भव भएको जानकारी दिए ।

कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेले भूकम्पपीडित नभएकाले पनि राहत रकम लिएकाले तिनलाई कारबाही गर्न र पनौती नगरभित्र रहेका वास्तविक भूकम्पपीडितले रकम नपाएकाले पुनः अनुगमन गर्नसमेत आग्रह गरे । 

विशेष