जति भ्रष्टाचार गरे पनि कसैले हल्लाउन नसक्ने हाकिम
साउन १६ । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले आफ्नो छोरा सञ्चालक रहेको कमपनीबाट आयल निगमको लागि जग्गा खरिद गरेका छन् । खड्काका कान्छा छोरा रिजन खड्का सञ्चालक रहेको एडभेन्चर इन्टरनेसनल प्रालीबाट चितवन र सर्लाहीमा निगमले जग्गा खरिद गरेको छ । निगमले आइतबार सर्लाहीमा २०/२० विघा जग्गा एडभेन्चरसँग खरिद गरेको छ । जुन जग्गा प्रचलित मूल्यभन्दा दुई गुणा महँगोमा खरिद गरिएको छ ।
पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा ६७ करोड रुपैयाँ अनियमितता भएको सार्वजनिक भइसकेको छ । जग्गा दलालसँगको मिलेमतोमा प्रचलित मूल्यभन्दा दोब्बर तेब्बर बढी मूल्य तिरेर निगमले जग्गा खरिद गरेको छ ।
निगमले करिब १ अर्ब ६१ करोड रुपैयाँको जग्गा खरिन गर्ने क्रममा भैरहवामा खोलाको बगरसमेत किनेको छ । निगमले चार वटा प्रदेशमा जग्गा खरिद गरिसकेको छ । २ नम्बर प्रदेशको सर्लाही र ३ नम्बर प्रदेशको चितवनमा भने प्रबन्ध निर्देशक खड्काका छोरा सञ्चालक रहेको कम्पनीबाट जग्गा खरिद गरिएको हो ।
–साँघु साप्ताहिकबाट