पञ्चायतकालमा खुलेका उद्योग, प्रजातान्त्रिक सरकारहरुले बेच्दै खाँदै
–मेटल र म्याग्नेसाइट उद्योग पनि विदेशीलाई दिने तयारी
साउन १६ । अरबौं लगानीमा स्थापना भएका उद्योगहरु संचालन गर्नेतिर भन्दा कौडीको मूल्यमा बिक्री गर्न लागिएको छ । जब जब कांग्रेस सत्तामा आउँछ, तब तब पचासौं करोड रुपैयाँ लगानीका उद्योग अति कम मूल्यमा बिक्री गर्दै आएको छ । बाँसबारी छाला उद्योग, हरिसिद्धी इटा टायल कारखाना,भृकुटी कागज कारखाना निजीकरणका नाममा जसरी माटोको मूल्यमा बिक्री गरिएका थिए, कांग्रेस नेतृत्वको शेरबहादुर देउवाका सरकारले नेपाल मेटल उद्योग र ओरेन्ट म्याग्नासाइट कम्पनी त्यसैगरी विदेशी कम्पनीलाई सुम्पिन लागेको छ ।
उद्योग मन्त्रालयका सचिव शंकर कोइरालाले नेपाल मेटल कम्पनी र ओरेन्ट एन्ड म्याग्नेसाइट कम्पनी विदेशीलाई सुम्पने अन्तिम तयारी गरेका छन् । ठूलै आर्थिक चलखेलका आधारमा सचिव कोइरालासहितको समूहले यी उद्योग विदेशीलाई सुम्पिन लागेको आरोप छ । सरकारले मेटल र म्याग्नेसाइट दुवै उद्योग सञ्चालन गर्ने नाममा विदेशी व्यापारीलाई सुम्पन लागेको हो ।
सरकारले ३५ वर्षअघि २५ करोड रुपैयाँ लागतमा स्थापना गरेको नेपाल मेटल कम्पनी विदेशीलाई सुम्पिने तयारी भएको हो । रसुवामा मेटल कम्पनीको सबै पूर्वाधार निर्माण भइसकेको छ । उत्पादन गर्न मात्रै बाँकी छ । करिब ७ सय रोपनी क्षेत्रफलमा मेटल उद्योग निर्माण भएको छ । ३५ वर्षअघि सरकारले गरेको २५ करोड लगानी र ७ सय रोपनी जग्गा करोडौं मूल्ययमा विदेशीलाई दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
–साँघु साप्ताहिकबाट