अर्थ

जाजरकोटमा मासुको खपत पाँच गुणा बढ्यो

जाजरकोटमा मासुको खपत पाँच गुणा बढ्यो

असार - २३ । जाजरकोट खलंगामा केही दिन यता मासुुको खपत ह्वात्तै बढेको छ । आर्थिक बर्ष सकिनै लाग्दा भुक्तानीका लागी उपभोक्ता समितिका पदाधिकारी खलंगामा भित्रिए सँगै मासुको ब्यापार बढेको हो । दुई साता अघि सम्म सदरमुकाम खलंगामा दैनिक सरदर ८० केजी मासु खपत हुँदै आएकोमा हिजोआज पाँच गुणा बढेर करीव चार सय केजी प्रतिदिन विक्री भैरहेको स्थानिय मासु ब्यापारीले बताएका छन् ।

खसी र बोईलर कुखुरा गरेर दैनिक चार सयको हाराहारीमा मासु विक्री हुने गरेको ब्यवसायी नन्दलाल वलीले बताए । असारको दोस्रो साता देखी मासुको माग निकै बढ्ने गरेको उनको भनाई छ । जिल्ला समन्वय समिति, गाँउ तथा नगरपालिका, कृषि, पशु, सिंचाई, खानेपानी, प्राविधिक लगायतका कार्यालयबाट भुक्तानी लिनु पर्ने सवै आयोजनाका उपभोक्ता समितिका पदाधिकारी सदरमुकाममा आएका छन् । उनीहरुले गर्दा रक्सी र मासु ( सेकुवा ) को ब्यापार ह्वात्तै बढेको सेकुवा ब्यवसायी माधव चन्दले बताए । कर्मचारी र उपभोक्ता समितिका पदाधिकारी धेरैजसो आफ्ना ग्राहक भएको उनको भनाई छ ।

कर्मचारीहरु पनि यतिवेला धेरै ब्यस्त भएकाले तनावबाट मुक्ती लिन मदिरा र सेकुवाको साहारा लिने गरेका छन् । उपभोक्ताहरुले सदरमुकाम आएको आतेजाते, खान बस्नको पैसा समेत आयोजनाबाट असुल्ने गरेको भेरीनगरपालिका ११ का ज्ञानी प्रसाद शर्माले बताए । उनले प्राविधिक र लेखापालले हरेक योजनाबाट ५ देखी १० प्रतिशत सम्म कमिशन लिने गरेको दावी गरे । उपभोक्ता र कर्मचारीको मिलेमतोमा अनियमित तरीकाले कमाएको केही पैसा मदिरा र सेकुवामा खर्च गर्ने भएकोले यतिवेला मासुको ब्यापार बढेको उनको भनाई छ ।

केही समय पहिले दैनिक दुई, तीन ओटा खसी काट्ने गरेकोमा अचेल कम्तिमा सात, आठ ओटा खसी काट्ने गरेका छौ मासु ब्यवसायी वलीले भने सदरमुकाममा तीन ओटा बधशाला छन् । सवै ठाँउमा गरी १५, २० ओटा खसी दैनिक खपत हुने गरेका छन् । गाँउबाट खसी नआउँदा अभाव हुन थालेको उनको भनाई छ । जिल्ला सदरमुकामको मासुको माग जिल्लामै उत्पादित खसी बोकाले धानेका छन् । मासुमा जाजरकोट आत्मनिर्भर रहेको जिल्ला पशुसेवा कार्यालयको तथ्यांकमा उल्लेख छ ।

विशेष