जब पूर्वगृहमन्त्री निधीका अंगरक्षकले फनपार्कमा कम्मरको पेस्तोल निकालेर ताके...
काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले कीर्तिपुरको फन पार्कमा निःशुल्क प्रवेश नपाएपछि कर्मचारीलाई धम्की दिएका छन् ।
चोभारस्थित ‘हुपिल्याण्ड एम्युजमेन्ट एन्ड वाट पार्क’को टिकट काउन्टरका कर्मचारीले निःशुल्क प्रवेश नदिएपछि प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयमा दरबन्दी भई निधिको अंगरक्षकमा खटिएका असई नागेन्द्र राउतले साथमा रहेको पेस्तोल ताकेर ज्यान मार्ने धम्की दिएका हुन् ।
घटना हो, मंगलबार दिउँसो १ बजेको । प्रहरी प्रधान कार्यालयका अनुसार निधिका स्वकीय सचिव विश्वास विक्रम तथा उनको परिवार लिएर पेस्तोलसहित चोभार पुगेका असई राउतले आफू प्रहरी भएको भन्दै निःशुल्क प्रवेश गर्न खोजेका थिए । पार्कले बालबालिकाका लागि ४ सय ७५ र अन्यलाई ८ सय २५ रुपैयाँ शुल्कको व्यवस्था गरेको छ ।
तर, काउन्टरका कर्मचारीले प्रहरी बाहेक अरुलाई शुल्क तिरेर मात्रै प्रवेश दिने भनेपछि राउतले कम्मरको पेस्तोल निकालेर ‘उडाइदिने’ धम्की दिए । त्यसपछि पार्कमा हल्लाखल्ला मात्रै भएन, केहीबेरमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट भ्यान आइपुग्यो ।
असई राउतलाई समेत पक्राउ गरी कीर्तिपुर प्रहरीले वृत्तमा पु-यायो । केहीघण्टा वृत्तकै नियन्त्रणमा रहेका राउत नेताको दबाबबाट छुटे । यसबारे प्रहरी प्रधान कार्यालय कार्य विभागले समेत गृहसचिव लोकदर्शन रेग्मीलाई समेत जानकारी गरायो । तर, माथीको दबाब थेग्न नसकेपछि प्रहरी राउतलाई छोड्न बाध्य भएको स्रोतले जानकारी दियो ।
“प्रहरी भएकै कारण फनपार्कमा निःशुल्क प्रवेश पाउनुपर्छ भन्नु गलत हो, त्यस्तो छुट प्रहरीका कुनैपनि कर्मचारीलाई छैन,” प्रहरी प्रधान कार्यालय कार्यविभागका एक अधिकारीले भने, “यसबारे हामीले राउतमाथि छानबिन गरिसकेका छौं, त्यस्तै चरित्र भएका केही कर्मचारीका कारण सिंगो संगठनको वदनाम भएको छ ।” निधिको सुरक्षामा खटिएका राउत उनका स्वकीय सचिवसँग हतियारसहित किन गए भन्नेबारे पनि प्रहरीले छानबिन थालेको छ ।
नेताका स्वकीय सचिव व कार्यकर्ता तथा तिनका परिवारसँग हतियारसहित जानु नै गैरकानुनी र हतियारको दुरुपयोग भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसअघि पनि नेता, व्यापारी तथा प्रशासकका अंगरक्षक गैरकानुनी गतिविधि तथा हतियारको दुरुपयोगमा संलग्न भएका थिए ।
कारोबार दैनिकबाट