अपराध सुरक्षा

परपुरुषहरुसँग अनैतिक सम्बन्ध राखेको भन्दै हत्या गरेको आरोपमा बाबु र दाजु पक्राउ

परपुरुषहरुसँग अनैतिक सम्बन्ध राखेको भन्दै हत्या गरेको आरोपमा बाबु र दाजु पक्राउ

साउन १७ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ बस्ने एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले मृतकका बाबु र दाजुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका–५ बस्ने शिवजी महतो र उनका छोरा विनोदकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

गत साउन १० गते दिउँसो ३ बजेतिर पक्राउ परेका महतो बाबु छोराले आफ्नै छोरी÷बहिनी गौशाला नगरपालिका–२ बस्ने विक्रम महतोकी पत्नी २५ वर्षीया सन्तोलियाकुमारी महतोलाई सलको पासो लगाई घाँटी कसेर हत्या गरेका थिए । गौशाला नगरपालिका–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको खोल्सीमा फालेको अवस्थामा प्रहरीले उनको लाश फेला पारेको थियो ।

विसं २०६९ मा गौशाला–२ बस्ने विक्रम महतोसँग विवाह बन्धनमा बाँधिएकी सन्तोलिया पति वैदेशिक रोजगारीमा खाडी मुलुकमा रहेको अवस्थामा माइती र घर कतै नबसी सधैँ परपुरुषहरुसँग अनैतिक सम्बन्ध बनाउँदै बाहिर बाहिरै हिँडेकीमा उनका घरपरिवार र माइती पक्षसमेतले सम्झाई बुझाई गर्दा पनि नमानेपछि उनका बाबु र दाजुले उनलाई माइतमा बोलाई नाक, मुख थुनेर सलले कसेर कर्तव्य गरी मारेको प्रहरी उपरीक्षक लम्सालले बताए ।

महतो बाबु-छोरालाई इलाका प्रहरी कार्यालय, गौशालाले पक्राउ गरी महोत्तरी जिल्ला अदालतमा म्याद थप गरी कर्तव्य ज्यान मुद्दा चलाएको छ ।

विशेष