पोखरामा सैनिक जवानद्वारा सुतिरहेका अर्का सैनिक जवानको गोली हानी हत्या
काठमाडौं । पोखरामा एक सैनिकले मंगलबार विहान आफ्नै सहकर्मीमाथि गोली प्रहार गरेका छन् । ती सैनिकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी घर भएका गणेश विष्ट छन् ।
फेवाताल किनारमा रहेको पोखरा सिद्धीबक्स गणको रत्न मन्दिरको सुरक्षार्थ खटिएका दार्चुला घर भई प्यूठ पदमा गणमा कार्यरत वसन्त लोहारले विष्टको हत्या गरेका हुन् । लोहारले गोली हान्दा विष्ट सुतिरहेका थिए । लोहारले विहान साढे ४ बजे विष्टको हत्या गरेको प्रहरीले जनाएको छ । घटनाका बेला लोहार भने डिउटीमै थिए ।
घरायासी विवादका कारण घटना भएको हुन सक्ने वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज प्रहरी निरीक्षक वसन्त शर्माले जानकारी दिए । मृतक विष्टको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । गोली प्रहार गर्ने लोहार सेनाको नियन्त्रणमा छन् ।