युद्ध अपराधअन्तर्गत बेलायतमा पक्राउ परेका महासेनानी लामा सहायकरथीमा बढुवा
काठमाडौं । बेलायत भ्रमणमा रहँदा युद्ध अपराधको मुद्दा खेपेका नेपाली सेनाका महासेनानी कुमार लामा सहायकरथीमा बढुवा भएका छन् । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले महासेनानी लामालाई सहायकरथीमा बढुवा गरेको स्रोतको दाबी छ । यद्यपि, यसको आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन ।
युद्ध अपराधको मुद्दा खेपेका लामा चार वर्षपछि निर्दोष ठहर भएर रिहा भइसकेका छन् । उनीसेनाको २१ बाहिनी झापामा सहायक बाहिनीपतिका रुपमा कार्यरत थिए । बढुवापछि लामालाई मध्यपृतना पठाइएको छ ।
उनलाई सैनिक मुख्यालयले दुई साआघि मात्रै सहायकरथीमा बढुवा सिफारिस गरेको थियो । रक्षा मन्त्रालयका प्रवक्ता उत्तम नागेलाले महासेनानी लामालाई मन्त्रालयले सहायकरथीमा बढुवा सिफारिस गरेको भएपनि भए नभएको थाहा नभएको प्रतिक्रिया दिए ।
संयुक्त राष्ट्रसंघको दक्षिणी सुडानस्थित मिसनमा पर्यवेक्षकका रुपमा कार्यरत लामालाई जनवरी २०१३ मा बेलायतको ससेक्समा श्रीमती र छोरा छोरी भेट्न जाँदा पक्राउ गरिएको थियो । सशस्त्र द्वन्द्वका बेला मानवअधिकारको गम्भीर उल्लंघन गरेको भन्दै लामालाई बेलायत प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि गोरुसिङ्गेस्थित शिवदल गणको प्रमुख हुँदा बन्दी बनाइएका जनक राउत र करम हुसैनलाई यातना दिएको आरोप लगाइएको थियो । उनी विश्वव्यापी क्षेत्राधिकारको कानुनअन्तर्गत पक्राउ परी विदेशमा मुद्दा खेप्ने पहिलो नेपालीसमेत हुन् ।
२५ वेसिकका सैनिक अधिकृत लालाई माओवादीको आरोपमा पक्राउ परेका दुई जनालाई नेपाली सेनाको कपिलवस्तुस्थित गोरुसिंगे ब्यारेकमा यातना दिएको अभियोग लागेको थियो ।
यस्तै, महासेनानी रामनाथ ढुंगानालाई पनि सहाकरथीमा बढुवा गरिएको छ । ढुंगानालाई ७ बाहिनीमा बाहिनीपतिको जिम्मेवारी दिइएको छ । सहायकरथी विश्वनाथ घिमिरेलाई इन्जिनियर बाहिनी र तारा पोखरेललाई पोखरास्थित पृतनामा सरुवा गरिएको छ ।