समाज अपराध सुरक्षा

बढ्यो अपराध : एक वर्षभित्र ६१७ को हत्या, ११३९ बलात्कार

हरेक दिन १४ जनाले गर्छन् आत्महत्या

बढ्यो अपराध : एक वर्षभित्र ६१७ को हत्या, ११३९ बलात्कार

 साउन १७ । देशको शान्तिसुरक्षाको अवस्था खस्कँदै गएको प्रहरी तथ्यांकले देखाएको छ। विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेका छन् ।

गत वर्ष करिब ८ प्रतिशतले अपराधका घटना बढेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७३७४ मा ३१ हजार चार सय ६२ वटा अपराध भएका छन् । यो संख्या अघिल्लो वर्षभन्दा करिब दुई हजार आठ सय ९९ बढी हो । आव ०७२.७३ मा २८ हजार पाँच सय ६३ अपराधका घटना प्रहरीमा दर्ता भएका थिए ।

हत्या र बलात्कारका घटना बढे  

गत वर्ष साउनदेखि असारसम्म देशभरि ६ सय १७ जनाको हत्या भएको छ । त्यसमध्ये केही आपराधिक समूहबाट त केही आपसी झगडामा हत्या भएका छन् । अघिल्लो वर्ष पाँच सय ९८ जनाको हत्या भएको थियो । त्यस्तै, बलात्कारका घटना पनि बढेका छन् । यो वर्ष देशभरि एक हजार एक सय ३७ बलात्कारका घटना प्रहरीमा पुगेका छन् । अघिल्लो वर्ष १ हजार ८१ वटा बलात्कारका घटना भएका थिए । यो तथ्यांकले हरेक दिन देशमा तीनभन्दा धेरै बलात्कारका घटना हुने गरेको देखाउँछ । त्यस्तै, एक हजार ६ सय २७ वटा चोरी तथा डकैती भएका छन् ।

हरेक दिन १४ जनाले गर्छन् आत्महत्या

 पछिल्लो समय आत्महत्याका घटना बढ्दै गएका छन् । एक वर्षमा ५ हजार एक सय २४ ले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । हरेक दिन १४ नेपालीले आत्महत्या गर्छन् । आर्थिक वर्ष ०७२.७३ मा चार हजार ६ सय ७३ र ०७१.७२ मा चार हजार ३ सय ३२ जनाले आत्महत्या गरेका थिए ।

नयाँ पत्रिका 

विशेष