अपराध सुरक्षा

दुबईमा रोजगारीका लागि भन्दै दिल्ली पुर्‍याइएकी नेपाली चेली ३० जनाबाट बलात्कृत

दुबईमा रोजगारीका लागि भन्दै दिल्ली पुर्‍याइएकी नेपाली चेली ३० जनाबाट बलात्कृत

काठमाडौं। दुबईमा रोजगारी दिलाइदिने भन्दै भारतको राजधानी नयाँ दिल्ली पुर्‍याइएकी एक नेपाली चेली कम्तीमा ३० जनाबाट बलात्कृत भएकी छन् ।

करिब पाँच महिना अघि दुबई लैजाने भन्दै दिल्लीमा लगिएकी उनलाई वेश्यालयमा बेचिएको हो । अंग्रेजी भाषाको भारतीय अखबार ‘हिन्दूस्तान टाइम्स’ का अनुसार ती महिलालाई दिल्ली प्रहरी, दिल्ली महिला आयोग र एक गैरसरकारी संस्थाको पहलमा उद्धार गरिएको छ ।

जीबी रोडस्थित एक वेश्यालयमा छापा मार्ने क्रममा ती महिला फेला परेको बताइएको छ । पीडित महिलाको पहिचान खुलाइएको छैन । ती महिलालाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले जनाएअनुसार उनलाई दुबईमा रोजगारी दिलाइदिने आश्वासन दिएर नेपालबाट दिल्ली ल्याइएको हो ।

सो अखबारका अनुसार ती महिलाले भनिन्, ‘यसअघि पनि एक पटक प्रहरीले छापा मार्ने हल्ला चलेको थियो, मलाई आशा लागेको थियो कि अब म यहाँबाट निस्कन सक्छु, तर साहुनीले हामीलाई प्रहरीको नजरबाट जोगाउँदै अन्तै लगेर राख्न सफल भइन् ।’

दिल्ली महिला आयोगका मिडिया सल्लाहकार भूपिन्दर सिंहका अनुसार ती महिलालाई बेश्यालयमा राखिएको थियो । ‘उनलाई कयौं दिनसम्म भोकै राखिएको रहेछ,’ सिंहले भने, ‘अहिलेसम्म उनलाई ३० पुरुषसँग यौनसम्पर्कका लागि बाध्य पारिएको रहेछ ।’

उनलाई वेश्यालयबाट निकाल्नका लागि गैरसरकारी संस्थाले पहल गरेर प्रहरीसमक्ष उजुरी गरेको थियो । प्रहरीले उक्त वेश्यालयकी संचालिकालाई समेत गिरफ्तार गरेको छ । नेपालबाट प्रत्येक वर्ष ५ हजारदेखि १० हजारको संख्यामा चेलीहरुलाई भारतमा लगेर बेच्ने गरेको भारतीय गैरसरकारी संस्थाको अनुमान छ ।

विशेष