अपराध सुरक्षा

सशस्त्रका यी घुस्याहा लेखा प्रमुख, जसले ‘हजुरलाई थाहै छ नि’ भन्दै आईजीपीलाई बदनाम गराइरहेका छन्

सशस्त्रका यी घुस्याहा लेखा प्रमुख, जसले ‘हजुरलाई थाहै छ नि’ भन्दै आईजीपीलाई बदनाम गराइरहेका छन्

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालय लेखा शाखाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक दिलकुमार घिमिरेको जालझेलका कारण सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ दिन प्रतिदिन अप्ठेरोमा पर्दै गएका छन् । सांगठनिकभन्दा पनि व्यक्तिगत स्वार्थमा चल्ने र पैसाका लागि जे पनि गर्न पछि नपर्ने लेखा प्रमुख इन्सपेक्टर घिमिरेको व्यवहारका कारण महानिरीक्षक श्रेष्ठ अप्ठेरोमा पर्दै गएका हुन् । सशस्त्र प्रहरी बलमा आर्थिक मामिलामा अत्यन्तै इमान्दार मानिएका महानिरीक्षक श्रेष्ठलाई लेखा प्रमुख घिमिरेले भुलभुलैयामा राख्न सफल भएको स्रोतको दाबी छ । 

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठको सोझोपन र आर्थिक मामिलाबाट टाढै रहने स्वभावका कारण लेखा प्रमुख घिमिरेको बद्मासी दिन प्रतिदिन बढ्दै गएको स्रोतको दाबी छ । लेखा प्रमुख घिमिरेले आफ्नो स्वार्थपूर्तिका लागि नियमको बहाना देखाउँदै हुने काम पनि नहुने भन्दै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठलाई बद्नाम गराइरहेको बताइएको छ ।

लेखा प्रमुख घिमिरेको सेवा अवधि अब डेढ वर्ष मात्र बाँकी छ । अवकाशको मुखमा पुगेका घिमिरेलाई केन्द्रीय लेखाजस्तो सम्वेदनशील शाखाको जिम्मेवारी दिइराख्दा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ पछि ठूलै संकटमा पर्नसक्ने देखिएको छ ।

स्रोतका अनुसार, लेखा प्रमुख घिमिरेको व्यवहारप्रति महानिरीक्षक श्रेष्ठ पनि सन्तुष्ट छैनन् । तर उनलाई त्यहीँ राखिराख्न महानिरीक्षक पत्नी सरिता गुरुङ श्रेष्ठको दबाब रहेको बताइएको छ । महानिरीक्षक श्रेष्ठ आर्थिक मामिलाबाट टाढै रहने स्वभावका कारण लेखा प्रमुख घिमिरेले महानिरीक्षक पत्नी गुरुङलाई आफ्नो हातमा लिन सफल भएको स्रोतको दाबी छ ।

लेखा प्रमुख घिमिरेलाई सशस्त्र प्रहरी बलमा चतुर लेखा अधिकृतका रुपमा लिइन्छ । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त सेवा अवधि चार महिना मात्र बाँकी रहँदा निलम्वनमा परेपछि अनुसन्धानका सिलसिलामा तत्कालीन लेखा शाखा प्रमुख बिनबहादुर थापालगायतको समुह नै निलम्बनमा परेको थियो ।

वन्तपछि महानिरीक्षक बनेका दुर्जकुमार राईले घिमिरेलाई लेखा शाखामा ल्याएका हुन् । घिमिरे पहिला राई एआईजी हुँदा उनकै लेखा अधिकृत थिए । केन्द्रीय लेखा शाखाका पूर्ववर्ती सबै प्रमुखहरु अख्तियारको कारबाहीमा परेपछि बागडोर सम्हाल्न आएका घिमिरेले हुने नहुने ‘नियम’ को बहाना देखाउँदै तत्कालीन महानिरीक्षक राईलाई प्रभावमा पारे । उनले महानिरीक्षक राईको दिमाग यसरी भुटेकी आफू पनि पूर्ववर्ती महानिरीक्षकजस्तै भ्रष्टाचार काण्डमा फसिने डरले राईले सामान्यभन्दा सामान्य फाइलमा समेत दस्तखत गरेनन् । राई मात्र होइन, लेखा प्रमुख घिमिरेले पनि आवश्यक कागजातमा समेत दस्तखत गरेनन् । घिमिरेले त यतिसम्म चलाखी गरेकी, कतिपय फाइलमा त जुनियर अधिकृतहरुलाई दस्तखत गर्न लगाएका छन् । उनको यस्तो कार्य अहिले पनि जारी छ ।

वन्त निलम्बनमा परेपछि सशस्त्र प्रहरी बलको नेतृत्व नै डगमगाएको अवस्थामा घिमिरेको आगमनपछि पत्रपत्रिकालाई दिनुपर्ने विज्ञापनको जिम्मेवारी पनि आफै लिन सफल भए । तत्कालीन महानिरीक्षक राई र तत्कालीन प्रवक्ता शैलेन्द्र खनाललाई समेत प्रभावमा पार्दै उनले विज्ञापनमा एकछत्र राज गरे र आफूनिकट एजेन्सीलाई मात्र विज्ञापन दिन थाले ।

यहाँ चाखलाग्दो कुरा के छ भने उनी जसलाई विज्ञापन दिन्छन्, विज्ञापन छाप्नका लागि लेख्नुपर्ने पत्र भने दिदैनन् । कसैले विज्ञापन छाप्नका लागि पत्र चाहिन्छ भनेको खण्डमा उनी चाहिदैन भनेर तर्कसमेत गर्छन् । ‘विज्ञापन छापेको पैसा मैले भुक्तानी दिने हो, तपाईंहरुलाई पैसा भए पुग्दैन ?’ भनेर उनी उल्टै थर्काउँछन् । विज्ञापन एजेन्सीसँग उनले गरेको व्यवहार नै यही हो । खर्च घटाउने नाममा उनले विज्ञापन दिँदा झन मनलाग्दी गर्दै आएका छन् । विज्ञापन छापेपछि उनले एजेन्सीसँग कमिसन लिने गरेका छन् ।

अन्य व्यक्तिलाई सहमत गराउन खोज्ने उनको शैली पनि चाखलाग्दै छ । उनी जसलाई पनि ‘हजुरलाई थाहै छ नि’ भनेर जबर्जस्ती सहमत गराउन खोज्छन् । कसैले आफ्नो कुरा राखे उनी सुन्दै सुन्दैनन् । खाली ‘हजुरलाई थाहै छ नि’ भनेर जित्न खोज्छन् । मान्छेलाई थाहा होस् नहोस् हजुरलाई थाहै छ नि भन्ने उनको बानीले सबै आजित छन् ।

सशस्त्र प्रहरी बलकै कतिपय शाखालाई उनले मौखिक रुपमा आवश्यक खर्च माग्न पत्र लेख्नु पनि भन्ने गरेका छन् । पत्र लेखिसकेपछि उनले झुल्याउँदै आएका छन् । सशस्त्रका कतिपय अधिकृतहरु त आफूहरुलाई पत्र लेख्न लगाएर आफूहरुको नाममा उनले पैसा खाएकोसमेत अनुमान गर्छन् ।

सशस्त्र मुख्यालयले अहिले लेखा प्रमुखहरुको सरुवा गर्ने तयारी गरिरहेको छ । तर उनी आफूले माथिल्लो निकायमा सबै मिलाइसकेको भन्दै आफ्नो सरुवा नहुने आफू निकटस्थलाई बताउँदै हिडिरहेका छन् ।

 

विशेष