‘गुन्डा नाइके’ दीपक मनाङेलाई विशेष अदालतको सफाइ
काठमाडौँ । आपराधिक गतिविधि गरेर अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा ‘गुन्डा नाइके’ दीपक मनाङे भन्ने राजीव गुरुङले सफाइ पाएका छन् । विशेष अदालतले उनीसँगै श्रीमती पासाङ डोमा गुरुङलाई समेत सफाइ दिएको छ ।
ठमेललाई आधार क्षेत्र बनाएर आपराधिक गतिविधिमा सक्रिय मनाङेको सम्पत्तिबारे प्रहरीको केन्द्रयि अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेका थिए ।
ब्युरो र विभागले मनाङेसहित ६ जना गुन्डा नाइकेको सम्पत्तिको अनुसन्धान गरेर २०७० जेठ ५ मा विशेष अदालतमा मुद्दा दायर गरेका थिए । विशेष अदालतका न्यायाधीशहरु पवनकुमार शर्मा, बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलासले आइतबार आरोप पुष्टि हुन नसकेको भन्दै दुवै जनालाई सफाइ दिएको हो ।
ब्युरो र विभागले मनाङेको नाममा १४ करोडभन्दा बढीको सम्पत्ति देखिएको र त्यसको स्रोत नखुलेको दाबी गर्दै विशेषमा मुद्दा दायर गरेका थिए ।