प्रधानमन्त्री देउवाको दबाबमा प्रहरीमा सुपको एकछत्र राज
इमान्दार र काबिल प्रहरी अधिकारीहरु रुष्ट
काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले अडान लिन नसक्दा महानगरीय प्रहरी कार्यालय रानीपोखरीदेखि उपत्यकाका दुई ओटा परिसर र अन्य महत्वपूर्ण ठाउँमा सुदूरपश्चिम (सुप) गृह क्षेत्र भएका प्रहरी अधिकारीहरु हाबी भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम घर भएका प्रहरी अधिकारीहरुलाई महत्वपूर्ण ठाउँमा सरुवा र पदस्थापन गर्न दिएको दबाबलाई प्रहरी महानिरीक्षक अर्यालले अक्षरसः पालना गर्दा काबिल अधिकृतहरु भने मारमा परेका छन् । उनीहरु हालको सरुवा र पदस्थापनमा रुष्ट बनेका छन् । गृह मन्त्रालय माओवादीको भागमा परेको भएपनि प्रहरी सरुवा र पदस्थापनमा माओवादी पनि निरीह देखिएको छ ।
सरकारले आइतबार राति प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सम्मको सरुवा र पदस्थापन गरेको थियो । सोही सरुवा र पदस्थापनको सूची हेर्दा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाहेक अन्य क्षेत्रका प्रहरी अधिकारीहरुलाई पूरै ‘माइनस’ गरेको देखिन्छ ।
विशेषगरी महानगरीय प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं प्रहरी परिसरमा कसलाई पठाउने भन्नेमा सत्तासाझेदार दल कांग्रेस र माओवादीबीच पनि चर्काे विवाद रहेको थियो । प्रधानमन्त्री देउवा वरिष्ठताका आधारमा दोस्रो नम्बरमा एआईजीमा बढुवा भएका जयबहादुर चन्द (आईजीपीमा नियुक्त भएपनि सर्वाेच्च अदालतको आदेशपछि बदर गरिएका) लाई र माओवादी पहिलो नम्बरमा बढुवा भएका बमबहादुर भण्डारीलाई महानगरीय प्रहरी कार्यालयमा लैजान चाहन्थ्यो । तर, अन्ततः प्रधानमन्त्री देउवाकै जित भयो । चन्द महानगरीय प्रहरी प्रमुख बनाइए भने भण्डारी अपराध अनुसन्धान विभागमा धकेलिए । एआईजी चन्द बैतडीका बासिन्दा हुन् । एआईजी चन्द कार्यक्षमताका हिसावले काविल अधिकृत मानिदैनन् । सुदूरपश्चिमवासी भएकै कारण उनले एआईजीका लागि सबैभन्दा राम्रो मानिने महानगरीय प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी पाएका छन् ।
उनी डीआईजी हुँदा पनि तेस्रो वरीयतामा थिए । यद्यपि, सुदूरपश्चिमवासी भएकै कारण देउवाकै चर्काे दबाबमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल उनलाई आईजीपी नियुक्त गर्न बाध्य भएका थिए । त्यसबेला सरकारको यो कार्यको चर्काे विरोध भएको थियो भने यसप्रति असन्तुष्टि जनाउँदै पहिलो वरीयताका डीआईजी नवराज सिलवाल सर्वाेच्च अदालत गएका थिए । डीआईजी सिलवालले रिट दायर गरेपछि चन्दलाई आईजीपी बनाउने सरकारको निर्णय सर्वाेच्चले खारेज गरेको थियो ।
प्रधानमन्त्री देउवाकै आशिर्वादका कारण बैतडी निवासी एसएसपी रवीन्द्र धानुक काठमाडौं प्रहरी परिसरको प्रमुख बन्न सफल भएका छन् । एसएसपीका लागि सबैभन्दा राम्रो, आफ्नो क्षमता देखाउन सक्ने, राजनीतिक वृत्तमा पनि चिनाउन मद्धत पु-याउने ठाउँ काठमाडौं प्रहरी परिसर हो ।
धानुक काठमाडौं प्रहरी प्रमुख बन्न सफल भएपनि उनलाई काबिल अधिकृतका रुपमा लिइँदैन । उनी एसएसपी बढुवा सूचीमा पनि सबैभन्दा पुछारमा रहेका थिए । धानुक काठमाडौं प्रहरी प्रमुख बन्दा अन्य सक्षम प्रहरी अधिृकतको भने लाजले शिर निहुरिएको छ । रुपन्देही जिल्लामा रहँदा शान्ति सुरक्षा बहाल गर्न नसकेको भन्दै उनको चर्काे आलोचना भएको थियो । यद्यपि, उनलाई काठमाडौं प्रहरी प्रमुख बनाउन गृहमन्त्री जनार्दन शर्माको पनि महत्वपूर्ण हात रहेको बताइन्छ । उनको प्रधानमन्त्री देउवा र गृहमन्त्री शर्मासँग राम्रो सम्बन्ध छ । रुकुमको प्रहरी प्रमुख (डीएसपी) हुँदादेखि नै एसएसपी धानुक र हालका गृहमन्त्री शर्माको सम्बन्ध धेरै नै राम्रो भएको जानकारहरु बताउँछन् । धानुकमाथि रुकुमको डीएसपी हुँदा माओवादीलाई सघाएको आरोप छ ।
त्यस्तै, ललितपुर प्रहरी प्रमुखमा पदस्थापन गरिएका एसएसपी गणेशबहादुर ऐर प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरा निवासी हुन् । प्रहरीभित्र उनलाई सक्षम अधिकारीका रुपमा कहिले पनि हेरिएन । असक्षमताकै कारण उनी शान्ति मिसनमा पनि कहिले पनि जान सकेनन् । प्रहरीमा शान्ति मिसनलाई अत्यन्तै राम्रो अवसरका रुपमा लिइन्छ । शान्ति मिसनमा जाने अधिकृतलाई सक्षम अधिकृतका रुपमा पनि हेर्ने गरिन्छ ।
उनको दुई जना श्रीमती रहेको बताइन्छ । भन्नेहरु प्रहरी सेवामा प्रवेश गर्न आवश्यक उचाई ५ दसमलव २ पनि उनीसँग नभएको दाबी गर्छन् । यद्यपि, सुदूरपश्चिमवासी भएकै कारण उनले फाइदा भने लिनुसम्म लिएका छन् । उनी प्रहरी निरीक्षक हुँदा तत्कालीन वडा प्रहरी कार्यालय सिंहदरबार र नयाँबानेश्वर, डीएसपी भएपछि नयाँ बानेश्वर वृत्त बसिसकेका छन् । उनी आफ्नो स्वार्थपूर्तिका लागि जे पनि गर्न पछि नपर्ने अधिकृतका रुपमा चिनिन्छन् । साथै उनी चाकडी र चाप्लुसीमा माहिर छन् । उनी सञ्चारकर्मीलाई पैसा दिएर आफ्नो अनुकुल समाचार लेखाउन पनि पछि पर्दैनन् ।
काठमाडौं परिसरका प्रमुख धानुक मात्र होइन, उनका ट्वाइसी एसपी रामदत्त जोशी पनि प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराका बासिन्दा हुन् । यस्तै, महानगरीय प्रहरी कार्यालयमा कार्यरत एसएसपी पूर्णचन्द्र जोशी पनि डोटीका हुन् । ललितपुर परिसरका एसपी देवेन्द्र बोगटी पनि डोटीकै हुन् । यस्तै प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाका एसपी राजेन्द्रप्रसाद भट्ट पनि सुदूरपश्चिमकै हुन् ।
यति मात्र होइन, काठमाडौंका वृत्त कार्यालयहरुमा पनि सुदूरपश्चिमकै डीएसपी र इन्सपेक्टरको हालीमुहाली छ । लेखा शाखाका प्रमुखहरुमा पनि सुदूरपश्चिमकै बढी छ ।