च्याउ खेतीबाट मासिक एक लाख अाम्दानी
उर्लाबारी (मोरङ) । च्याउ खेती गरेर उर्लाबारी नगरपालिका– ७ का ३५ वर्षीय देवेन्द्र बस्नेत र ३२ वर्षीय गोपाल बस्नेतले मासिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहेका छन् ।
चार वर्षदेखि बस्नेत दाजुभाइ व्यावसायिक रुपमा च्याउ खेतीमा लागेका हुन् । उनीहरुले आधुनिक च्याउ उद्योग सञ्चालन गर्दै आएका छन् । सामान्य रुपमा बस्नेत दाजुभाइले १८ वर्षदेखि च्याउ खेती गर्दै आएका हुन् ।
बस्नेत दाजुभाइले रु एक हजारको लागतबाट च्याउ खेती शुरु गरेका हुन् । यतिबेला उनीहरुको लगानी रु एक करोड पुगेको छ । उनीहरुले च्याउ बिक्रीका लागि दुईवटा गाडी समेत किनेका छन् ।
“दैनिक ३०० किलोदेखि ५०० किलोसम्म च्याउ उत्पादन हुन्छ,” देवेन्द्रले भने । बस्नेत दाजुभाइले च्याउका साथै बीउ समेत उत्पादन गरी बिक्री गर्दै आएका छन् । उनीहरुले दैनिक काठमाडौँ, पोखरा, हटौँडा, महेन्द्रनगर, दाङसहित पूर्वका अधिकांश स्थानमा च्याउको बीउ बिक्रीका लागि पठाउने गर्छन् । कन्यू, डल्ले, सिताके, हवाइट मिल्के र पिङ्क च्याउ उत्पादन गर्दै आएको देवेन्द्रले बताए ।
दश कठ्ठा आफ्नै जग्गामा च्याउ खेती गर्दै आएका बस्नेत दाजुभाइले २५ जनालाई रोजगारी समेत दिएका छन् । च्याउ प्रतिकिलो खुद्रा रु २०० मा बिक्री हुन्छ । उनीहरुले पूर्वाञ्चलमै पहिलो पटक च्याउ उमाल्ने प्रविधिको प्रयोग गरेका छन् । सो प्रविधिबाट एकै पटकमा ६ वटा ड्रममा पराल उमाल्न सकिन्छ । सो प्रबिधिबाट ७० प्रतिशतसम्म इन्धन बचत गर्न सकिने देवेन्द्रको भनाइ छ ।
च्याउलाई दुईदेखि तीन दिनसम्म राख्न सकिने र्यापिङ मेसिन नहुँदा उत्पादित च्याउलाई भण्डारण गर्न नसकेको अर्का व्यवसायी गोपालले भने । गोपाल चार वर्ष साउदी अरबमा मजदुरी गरेर फर्केका हुन् । “अहिलेसम्म सरकारी अनुदान पाउन सकेका छैनौँ,” उनले भने ।